जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डको रिम्नादेखि तल्लुबगरसम्मको सडकको स्तरोन्नति गर्नका लागि बजेट स्वीकृत भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भएसँगै यस सडकखण्डका लागि रु एक अर्ब ८० करोड स्वीकृति भएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । अहिले सदरमुकाम खलङ्गाको पासागाडदेखि रिम्नासम्मको सडकमा स्तरोन्नतिको काम जारी रहेको छ । एक सय १७ किलोमिटर सडकखण्डमध्ये दुई वर्षअघि पासागाड–रिम्नाको स्तरोन्नतिका लागि बोलपत्र भई अहिले काम जारी रहेको छ भने बाँकी रिम्नादेखि नलगाड नगरपालिकाको तल्लुबगरसम्म सडक स्तरोन्नतिका लागि बजेट स्वीकृत भई बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
त्यस्तै जाजरकोटको नलगाड नगरपालिका–८ मन्मैदेखि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको ठाँटीखोला जोड्नका लागि यातायात चल्ने भेरीनदीको पुल निर्माणका गर्न बजेट स्वीकृत भई बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको छ । सो पुल निर्माणका लागि रु २४ करोड स्वीकृत भएको बस्नेतले बताउनुभयो । त्यस्तै जाजरकोट–डोल्पा सडकखण्डकै बीचबीचमा रहेको भेरी नदीमा पुल निर्माण कार्यसमेत जारी रहेको छ । बेलिब्रिज निर्माण गरेर तत्काल यातायातका साधन सञ्चालन गर्न सजिलो हुने भएकाले यो आर्थिक वर्षको अन्तिममा पुल निर्माण कार्य सकिने सडक डिभिजन चौरजहारीका प्रमुख धु्रव झाले बताउनुभयो ।
जाजरकोट खण्डका अधिकांश पुल निर्माण भइसकेकाले डोल्पा खण्डमा मात्र अहिले पुलको काम निरन्तर भइरहेको छ । त्यस्तै रुकुम पश्चिममा एक घर एक धारो निर्माणका लागि रु एक अर्ब बजेट स्वीकृतकै चरणमा गएको आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार नदुवा राडी सडक स्तरोन्नतिका लागि रु ३० करोड, फुसको छाना हटाउन रु आठ करोड, राडी बजार क्षेत्रमा सहरी पूर्वाधारका लागि रु ५० करोड स्वीकृत भएको छ । छहरेबगर गोतामकोट १० किलोमिटर सडकका लागि रु ५० करोड बजेट स्वीकृत भई बोलपत्र आह्वान गर्ने चरणमा पुगेको छ । -रासस