×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असिना पानीले पोखरामा करिब ११ करोड रुपियाँ बराबरको क्षति, किसान चिन्तित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

असिना पानीले पोखरामा करिब ११ करोड रुपियाँ बराबरको क्षति, किसान चिन्तित

Artha Sarokar

१० फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  पर्यटकीय नगरी पोखरामा गत आईतवार परेको भीषण असिना पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरु नष्ट भएका छन् । पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताउनु भयो ।
कडारियाले राज्यले कृषकलाई दिएको बिमा सुविधासमेत कृषकले सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताउनु भयो । उहाँले असिनाका कारण सो वडाहरुमा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेको छ जानकारी दिनुभयो । उहाँकाअनुसार असिनापानी परेको दोस्रो दिनसम्म पनि असिना पग्लिएको छैन ।
असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आउनुभएको उदय अर्गानिक कृषि फार्मका २ वटा भैँसी मरेका छन् । फार्ममा टिनमा असिनाको भार पर्दा सो भाँचिएर थिचेको कारण भैँसी मरेका हुन् । त्यस्तै तरकारीका टनेलहरु भत्किएका छन् । गुरुङका अनुसार फर्ममा २० लाख बराबरको क्षति भएको छ ।
उता, पोखरा वडा ११ मा केहरमान गुरुङले सञ्चालन गर्दै आउनुभएको गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ । उहाँले ४ रोपनी क्षेत्रफलमा लगाएको विभिन्न जातका फूलहरु टनेलसहित भाँचिदा पूर्ण रुपमा क्षति भइ २० लाख बराबरको क्षति पुगेको बताउनु भयो । असिनाको भारका कारण टनेल भाँचिएको उहाँको भनाइ छ ।
यसैगरी पोखरा ११ को कृषक मोतीराम भट्टराईको पनि तराकारी खेतीमा ठूलो क्षति भएको छ । उहाँ सरकारले राहत दिएर भएपनि कृसानहरुलाई सहयोग गरिदिन आग्रह गर्नुभयो ।
पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष मोहनप्रसाद बास्तोलाले पोखरा क्षेत्रमा परेको असिनापानीको मुख्य केन्द्र पोखरा ११ भएकोले आफ्नो वडामा धेरै क्षति पुगेको बताउनु भयो । उहाँले कृषकको राहतमा आफूले पहल गरेकोसमेत बताउनु भयो ।
पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफूल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ । पोखरामा गत फागुन ८ गते आइतवार दिउँसो भीषण असिनापानी परेको थियो । असिनापानीले पोखराको सडक केही समय अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, फूलबारी, बगर, अमंरसिंह चोक, रानीपौवा भागमा असिनाले सडक नै छोपिएको थियो । सडकमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो । असिनाले गुडिरहेका सवारी साधन रोकिएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी