×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोल गाडेको १५ वर्षसम्म पनि बलेन बिजुली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पोल गाडेको १५ वर्षसम्म पनि बलेन बिजुली

Artha Sarokar

१० फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकामा विद्युत्का पोल गाडिएर तार झुण्ड्याएको १५ वर्ष भयो । तर अहिलेसम्म बिजुली बल्न सकेको छैन । नरहरिनाथ गाउँपालिकाका लालु, माल्कोट, कोटबाडा, रुप्सा र कुमालगाउँमा साबिकका गाउँ विकास समितिले विद्युत्का पोल र तार गाडेको १५ वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । “गाडेका पोलमा तार झुण्ड्याइएको छ, तर बत्ती बलेको छैन्”, स्थानीय भन्छन्, “अहिलेसम्म पोल र तार हेरेरै बत्ती बल्ने सपना देखिरहेका छौं ।”
हचुवाका भरमा विगतमा साबिकका गाविसहरुले विकास अनुदानको बजेट र कर्णाली रोजगार कार्यक्रमको बजेटबाट ती पोल र तारहरु गाडिएका हुन् । पोल गाडिएको वर्र्षौं भइसक्दा पनि त्यहाँ कुनै लघु जलविद्युत् आयोजना पनि बनेका छैनन् । न कतैबाट विद्युत् ल्याउन तयारी भएको छ । विगत १५ वर्षअगाडि गाडिएका ती पोल र झुण्ड्याइएका तारमा अहिले विद्युत् प्रवाह नभइकनै खिया लागेर करोडौँको नोक्सान भएको बताइएको छ ।
साबिकका गाविस र कर्णाली रोजगार कार्यक्रमको बजेटबाट खरिद भएका कैयौँ पोलहरु लालीघाट र जितेबजारमा अलपत्र अवस्थामा रहेको नरहरिनाथ गाउँपालिका–९ का शिक्षक नवराज शाहीले बताउनुभयो । “गाविस र कर्णाली रोजगारको पैसा दुरुपयोग गर्न मात्र बिजुलीका पोल खरिद गर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “विद्युत्को आयोजना नै नभएको ठाउँमा किन पोल र तार चाहियो ।” पोल र तारमा साबिकको लालु गाविसले आव २०६७/६८ मा कर्णाली रोजगार कार्यक्रमबाट रु ४५ लाख र गाविसको रु २७ लाख खर्च गरेको छ भने माल्कोट गाविसले पनि लाखौँ खर्च गरेको छ जनाइएको छ । त्यस्तै कुमालगाउँ गाविसले आव २०७०/७१ को विकासे अनुदानबाट रु २५ लाख खर्च गरेर पोल खरिद गरिएको नेकपा (माओवादी केन्द्र) नरहरिनाथ गाउँपालिकाका अध्यक्ष अग्रबहादुर विष्टले बताउनुभयो ।
विद्युत् आयोजनाको पूर्वाधार निर्माण नगरी गाउँमा पोल र तार कतै गाडिनु, त पोल र तार अलपत्र अवस्थामा छोड्नुका मुख्य कारण आर्थिक सहायता दुरुपयोग गर्नु नै रहेको नरहरिनाथ गाउँपालिका–९ लालुस्थित जनप्रभात माविका प्र्रधानाध्यपक निर्मलकुमार विष्टले जानकारी दिनुभयो । “विद्युत्का पोल र तारका नाममा आर्थिक सहायता दुरुपयोग गर्ने एउटा उद्देश्य देखिन्छ”, उहाँले भन्नुभयो, “न विद्युत आयोजना छ । न कतैबाट विद्युत् ल्याउने तयारी छ । हचुवाका भरमा विद्युत्का पोल गाडिनुमा मुख्य कारण नै अनियमितता गर्नु हो ।”
करोडौँ रकम खर्च गरेर गाडिएका बिजुलीका पोल र तार अहिले अलपत्र अवस्थामा छन् । गाडिएका विद्युत्का पोल र झुण्ड्याइएका तारमा कति खर्च भयो भन्ने प्रमाण कुनै निकायसँग पनि छैन । अहिले राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी भइरहेको नरहरिनाथ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सबै क्षेत्रमा बिजुलीका पोल गाडिएको र राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी थालिएको बताइएको छ । विगतमा कालीकोटमा राष्ट्रिय प्रसारण लाइन नहुँदा समस्या भएको र अहिले राष्ट्रिय प्रसारण लाइन जोडिएका कारणले त्यहाँबाट बिजुली लैजाने तयारी भएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी