काठमाडौं । नयाँ अनलाइन लाइसेन्स आवेदन रोकिएको छ । अगामी बैशाख भित्रै पुराना लाइसेन्स आवेदकको प्रयोगात्मक परिक्षा सक्ने गरी नयाँ अनलाइन आवेदन रोकिएको हो । उपत्यकाका यातायात कार्यालयबाट चालक अनुमति पत्र लिन र प्रयोगात्मक परिक्षामा भाग लिन तीन बर्ष भन्दा बढी कुर्नु पर्ने बाध्यात्मक परिस्थिति छ । सोही परिस्थितिलाई मध्यनजर गर्दै यातायात मन्त्री घनश्याम दाहालले नयाँ आवेदनलाई रोकेर तीन सिफ्टमा प्रयोगात्मक परिक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
बागमती प्रदेश भित्र सवारी चालक अनुमाति पत्र लिने व्यवस्था अव्यवस्थित भएको गुनासो आएपछि यस्तो कदम चालिएको हो । बागमती प्रदेशका यातायात मन्त्री दाहालले यातायात विभागका महानिर्देशक र यातायात कार्यालयका प्रमुखहरुसँग छलफल गरी आगामी बैशाख ३० गते भित्र हालसम्म परेका आवेदनहरुको कारवाही टुङ्गो लगाउन निर्देशनसमेत दिएका छन् ।
गत आइतबार मन्त्री दाहालले काठमाडौं उपत्यकाका सबै यातायात कार्यालय अनुगमन गरेका थिए । आगामी बैशाखबाट नयाँ अनलाइन सिस्टम सार्वजनिक गर्ने भएको छ । यातायात बिचौलियालाई रोक्नका लागि उक्त सिस्टमको व्यवस्था गरिएको यातायात विभागका इन्जिनियर सन्तोष पोखरेले जानकारी दिए गरी नयाँ अनलाइन सिस्टम सार्वजनिक गर्न लागेको बताए । लाइसेन्सका लागि अनलाइन फारम भरेको ३ बर्षपछि मात्रै पालो आउने अवस्था छ । सो अपस्थाको फाइदा उठाउँदै यातायात विचौलियाले मोटो रकम लिएर मिति अगाडि सार्ने र कमिसन खाने गरेका छन् ।