काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाईप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् । अर्थमन्त्री शर्माले अर्थतन्त्र नबुझ्दा तथा उनको एकाङ्की कार्यशैलीका कारण अर्थतन्त्र डामाडोल बनेकाले प्रधानमन्त्री देउवाले अध्यक्ष प्रचण्डसँग असन्तुष्टि व्यक्त गरेका हुन् ।
साथै प्रधानमन्त्री देउवाले चैत १५ गतेभित्रै मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् । मन्त्रीहरु हेरफेर र रिक्त रहेका मन्त्रालयमा नयाँ नियुक्ति गर्ने गरी देउवाले मन्त्रीपरिषद पुनर्गठनको तयारी गरेका हुन् । यो क्रममा अर्थमन्त्री शर्मालाई विदा दिने संभावना प्रवल देखिएको छ ।
परराष्ट्रमन्त्रालय माओवादीलाई दिने र अर्थतन्त्र बुझेको व्यक्तिलाई अर्थमन्त्री बनाउने लविङ दलमा तीव्र बनिरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । यद्यपी शर्मा फिर्ता भएमा अर्थमन्त्रीको रुपमा ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल र डा. नारायण खड्काको इन्ट्री हुनसक्ने सम्भावना देखिएको छ । प्रधानमन्त्री निकट स्रोतहरुकाअनुसार अन्य केही मन्त्रीहरु समेत हेरफेर गर्ने तयारी भइरहेको बुझिएको छ ।