काठमाडौं । ग्लोबल आइएमई बैंकद्धारा नयाँ सुविधाको सुरुवात गरेको छ । बैंकले मुद्दति निक्षेपकर्ताहरुलाई लक्षित गरी अबदेखि मुद्दति निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सकिने सुविधाको सुरुवात गरेको हो । ग्लोबलका मुद्दति निक्षेपकर्ताहरुले बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ वा वेभ साइटमार्फत मुद्दति निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्ने भएका छन् ।
कर्जा रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुने र यसका लागि कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत बैंकबाट आफ्नो मुद्दति निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सकिने भएको छ ।
बैंकले २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । यसका साथै मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।