बागलुङको ताराखोला गाउँपालिका–५ मा गिट्टी कुट्दै महिला । यहाँका महिला गिट्टी कुटेर आफ्नो जीविका चलाउँछन् ।
भक्तपुर नगरपालिका–४, मङ्गलतीर्थ परिसर सरसफाइ गर्दै महिला । द्वापरयुगदेखि प्रसिद्ध मानिने मङ्गलतीर्थ क्षेत्रका सम्पदा लेदो र झारले छोपेपछि स्थानीय निकायको पहलमा सरसफाइ गरिएको छ।
उत्तरी मोरङको लेटाङ नगरपालिका– १ मा पर्ने राजारानी ताल क्षेत्र । दुई पोखरीको मध्य भागमा राजारानी मन्दिर निर्माण भएको ताल क्षेत्रमा पूर्वतर्फ रानी र पश्चिममा राजा ताल छ । रानी ताल नजिकैको छोरी ताल भनेर चिनिएको पोखरी सुक्ने क्रममा छ । पूर्व–पश्चिम राजमार्गको बेलबारी खण्डबाट करिब १२ किलोमिटर दूरीमा रहेको राजारानी क्षेत्र धिमाल र मगरको ऐतिहासिक ठाउँ मानिन्छ । धिमालले त आफ्नो उत्पत्ति थलो नै मान्छन् ।
घोराही–१७, कर्जाहीका सालिकराम घर्तीमगरले गरेको व्यावसायिक बङ्गुर पालन । बङ्गुर पालन गर्न थालेको एक वर्षभित्रमा उत्पादन दिन थालेको उनी बताउँछन् ।
म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सडक कालोपत्रेको तयारी गरिँदै । पूर्वाधार विकास कार्यालय म्याग्दीले बेनीदेखि तातोपानी जोड्ने ९ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भएको छ ।
म्याग्दे गाउँपालिका– २ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको ट्रि हाउस । डिभिजन वन कार्यालय तनहुँको रु १२ लाख ५० हजार र सामुदायिक बनको रु दुई लाख ५० हजार गरी रु १५ लाखको लागत निर्माण गरेपछि आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरमा सञ्चालित पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत पाँचखाल नगरपालिका–९ डाँडागाउँमा निर्माण भइरहेको चार लाख लिटर क्षमताको ट्याङ्की । लिफ्टिङ प्रविधिको उक्त आयोजनामा सुनकोशी नदीको पानी सुद्धिकरणपछि यो ट्याङ्कीमा जम्मा गरेर गाउँगाउँमा वितरण हुनेछ ।