काठमाडौँ । नीजि क्षेत्रका प्रतिनिधिहरुले प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन गर्नेगरि आगामी बर्षको बजेट आउनुपर्ने धारणा राखेका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरुले आगामी बर्ष आकारमा भन्दा पनि प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन हुनेगरि बजेट आउनुपर्ने धारणा राखेका हुन् । बैठकमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चुस्त दुरुस्त बजेट ल्याउनुपर्ने सुझाव दिनुभयो । ठूलो आकारको बजेट ल्याएर पटक पटक सच्चाउनुपर्ने अवस्था आउन नहुने र बजेटमा डुप्लिकेशन हुन नहुने उहाँको भनाई छ ।
त्यस्तै उहाँले बिकास खर्च समयमा नसकिदा समस्या देखिने गरेको भन्दै वर्तमान सरकारले यसअघिको कमी कमजोरीलाई सच्चाउदै बजेट ल्याउनुपर्ने बताउनुभयो । उहाँले भारतीय पर्यटकलाई मध्यनगर गर्दै भारु ५ सय र २ हजारका नोट नेपालमा चल्ने व्यवस्था गर्न सुझाव दिनुभयो ।
त्यस्तै बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सन्दिप अग्रवालले नेपालमा भारतीय पर्यटकको सहजताका भारतीय नोटको कारोबारलाई नेपालमा वैध बनाउनुपर्ने बताउनुभयो । त्यस्तै उहाँले कृषिमा आयकर पूर्ण छुट दिनुपर्ने, आयातलाई बढावा हुने गरि उचित व्यवस्था हुनुपर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले पर्यटकलाई आकर्षित गर्न सरकारले आवश्यक नीति ल्याउनुपर्ने बताउनुभयो । कोरोना प्रभावित होटल व्यवसायलाई उकास्न सहयोग पुग्ने प्रकारको बजेट सरकारले ल्याउनुपर्ने उहाँले बताउनुभयो ।
त्यस्तै नेपाल चेम्वर आफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले बिदेशी मुद्राको सञ्चिती हेर्दा आर्थिक गतिविधि गर्न समस्या भएको भन्दै यसमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । समितिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि नीजि क्षेत्रबाट सुझाव लिएको हो ।