- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले जिल्ला मालपोत कार्यालय तनहुँमा लागेको सेवाग्राहीको भीडदेखि काठमाडौँको माइतीघर मण्डलमा बिहीबार धर्नामा बसेका उखु किसानसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
जिल्ला मालपोत कार्यालय तनहुँमा सेवाग्राहीको भीड । कोरोना जोखिम कायमै रहँदा पनि स्वास्थ्य मापदण्ड पालना नगर्दा जोखिम बढ्दो छ ।
काठमाडौँको माइतीघर मण्डलमा बिहीबार धर्नामा बसेका उखु किसान । विभिन्न उखु उद्योगबाट भुक्तानी लिन बाँकी रकम लिन पाउनुपर्ने माग गर्दै किसान धर्नामा बसेका हुन् ।
पोखरा महानगरपालिका–८ रत्न चोकस्थित सडकको फोहर सरसफाइ गर्दै महिला ।
तनहुँको म्याग्दे गाउँपालिका–५ मूलाबारीमा सुन्तला बिक्रीका लागि तयारी गर्दै महिला । यहाँका स्थानीयवासीले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्छन् ।
कास्कीको मादी गाउँपालिका–११ तोगीमा शुद्ध एवं अर्गानिक मह खरिद गर्दै पोखराबाटा सो स्थानमा पुगेका ग्राहक । मह र मौरी बिक्रीबाट वार्षिक एक करोड रुपैयाँमा शहरको पैसा गाउँमा जाने गरेको छ ।
कास्की जिल्लाको मादी गाउँपालिका–११ लम्तरी तोगीका माधव खनाल मौरीको रेखदेख गर्दै । उनले विदेशबाट फर्केर व्यावसायिक मौरीपालन गर्दै आएका छन् ।
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा सिड नेपाल नामक संस्थाले आयोजना गरेको आमा समूहको बैठकमा कोरोना जोखिमबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे छलफल गर्दै महिला ।
कोभिड– १९ कारण नौ महिनादेखि बन्द रहेको पोखराको ताल बाराही मन्दिर बिहीबारदेखि सर्वसाधारणको लागि खुला गरिएपछि पूजा सामग्री किन्दै दर्शननार्थी ।
घामको न्यानो पाएपछि चारोको खोजीमा मनाङको ङिस्याङ गाउँपालिका– १ पिसाङबाट देखिएको आकाशमा उड्दै गरेका मलेवा ।
भैरहवाको रामग्रामस्थित एक होटलमा पालिराखिएको राजहाँसको बथान । यो प्रजातिका हाँसले सुख्खा भात र घाँस मात्र खाने गर्छ ।
काठमाडौँको माइतीघर मण्डलामा बिहीबार आयोजित धर्ना कार्यक्रममा सहभागी सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ९फेकोफन०का वन उपभोक्ता । उच्चस्तरीय छानवीन समितिको प्रतिवेदन कार्यान्वयन, वन पैदावारको उपयोग तथा बिक्री वितरणमा लगाइएको रोकावट खुल्ला गर्न तथा वैज्ञानिक वन व्यवस्थापन खारेजीलगायत माग राख्दै उनीहरु धर्नामा बसेका हुन् ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ र ४ जोडेने तमोर नदीमाथि बाँसबाट निर्माण गरिएको फड्के पुलबाट आवतजावत गर्दै स्थानीयवासी ।