काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिअन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गरेका छन् । आज बिहान अनुगमन गर्दै उनले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमाथप छलफल गरिने बताए । मन्त्री झाँक्रीले आयोाजनाको काम तोकिएको समयमा सक्न पनि निर्देशन दिएका हुन् ।
मन्त्री झाँक्रीले निर्माण क्षेत्रमा रहेका सत्तलमा आश्रित रहेका परिवारहरुको व्यवस्थानबारे मन्त्रालयले सकारात्मकपहल गर्ने बताउँदै मन्त्रालयको एकल निर्णयले मात्र आश्रित परिवारको व्यवस्थापन गर्न नसकिने बताए । उनले अन्य सरोकारवाला निकायहरुसँग छलफल गरेर नयाँ ठाउँमा पुनर्स्थापना गर्न सकिनेबारे विकल्पखोज्नु पर्ने बताए । अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले पहिलो क्षेत्रको काम सम्पन्न भइसकेको बताउँदै दोस्रो र तेस्रो साइट निर्माण कार्य करिब ७० प्रतिशत सकिएको जानकारी दिए ।
पुरातात्विक र सांस्कृतिक संरचना निर्माण गर्नुपर्ने आयोजना भएकाले काम गर्न अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण रहेको उनको भनाई थियो । आगामी असार सम्म आयोजनाको म्याद रहेकाले आफूहरु समयमै काम सक्न प्रतिबद्ध रहेको बताउँदै प्याकुरेलले आफूले निर्माण व्यवसायी र परामर्शदातालाई आयोजना समयमै सक्न ताकेता गरिरहेको बताए ।