काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरु पहाडी र हिमाली भेगमा बनाउनुपर्ने बताउनुभएको छ । शुक्रवार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरु देशको पहाडी र हिमाली भागमा केन्द्रीत गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रिय गौरवका आयोजनाहरु तराई केन्द्रीत भएको उल्लेख गर्दै उहाँले खेतियोग्य जमिन पहाड र हिमालमा पनि भएकाले सो भेगमा सिँचाइ सुविधा पु¥याउने गरी आगामी दिनमा नीति तथा योजना तर्जुमा गर्नुपर्ने बताउनुभएको हो ।
पहाडी र हिमाली भेगमा सिँचाइ पु¥याउन सके खाद्यान्न उत्पादनमा वृद्धि भएर आत्मनिर्भर हुन सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो उर्वरा जमिन एकदम घनिभुत ढंगले तराई, मधेश हो । हाम्रो सबै राष्ट्रिय गौरव लगायतका आयोजनाहरु तराई केन्द्रीत छन् । तर फेरी उर्वरा जमिन पहाडमा पनि छ । हिमाली भेगमा पनि छ । हामीले त्यसलाई पनि सम्बोधन गर्ने नीति, योजना, कार्यक्रम ल्याउनुपर्छ भन्ने मेरो अनुभुतिको विषय हो । अब हामीले सिँचाइको आयोजना बनाउँदा त्यो पहाडको सिँचाइ, हिमाली भेगका जग्गा जमिनमा सिँचाइको व्यवस्था पु¥याउँ । हामीले सिँचाइ पु¥यायौँ भने त्यसले खाद्यान्नमा योगदान गर्न सक्नेछ । त्यसले रोजगार पनि त्यहीँ सृष्टि गर्छ । खाद्यान्नमा पनि हामी आत्मनिर्भर हुन सक्छौँ । र अव्यवस्थित बसोबासलाई पनि रोक्न सक्छ । राष्ट्रले ठुलो लगानीमा गरेको भौतिक पूर्वाधारको पनि भरपुर उपयोग हुन्छ । त्यतातिर केन्द्रीत हौँ ।’
मन्त्री भुसालले देशमा आर्थिक तरलताको स्थिति भएपनि आर्थिक संकट भने नरहेको बताउनुभयो । उहाँले श्रीलंकाको अवस्था जस्तो हुने हो कि भनेर अतिरञ्जित गरिएको बताउनुभयो । उहाँले आयातित वस्तुलाई प्रयोग नगरेर आफ्नै देशमा उत्पादित वस्तुहरुको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘अहिले देशमा अलिकति आर्थिक तरलताको स्थिति कतै संकट हो कि, कतै श्रीलंका हो कि भनेर अलि अतिरञ्जित गर्ने पनि छ । हिजोपनि हामीले क्याबिनेटमा छलफल गरेको थियौँ । त्यत्तिको त छैन मान्छेले चर्चा गरेजस्तो । राष्ट्रलाई आर्थिक हिसाबले आत्मनिर्भर बनाउने कुरा, समृद्धिमा लाने भन्ने नारा भन्दा हाम्रो व्यवहार सबैभन्दा मुख्य हुन्छ । त्यसैले सबैले आ–आफ्नो ठाउँबाट आयातित चिजलाई सकेसम्म प्रयोग नगरेर देशैभित्रको चिजको खोजी गर्ने । उत्पादनमा सहभागी हुने । कृषि उत्पादनमा व्यक्तिगत हिसाबले पनि हामी नमुना बनौँ । त्यसपछि हाम्रा नीति, योजना, कार्यक्रम सबै त्यतातिर केन्द्रीत गर्ने गरेर लागौँ ।’ उहाँले कृषिमा आत्मनिर्भर, पर्यटन र जलविद्युतको विकास भएमात्र देशमा आर्थिक समृद्धि हुने बताउनुभयो ।