×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नौ वर्षमा पनि बनेन दूधाङको पक्की पुल, खाद्यान्न ढुवानी गर्न र बिरामी पर्दा समस्या हुने गरेको स्थानीयको गुनासो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नौ वर्षमा पनि बनेन दूधाङको पक्की पुल, खाद्यान्न ढुवानी गर्न र बिरामी पर्दा समस्या हुने गरेको स्थानीयको गुनासो

Artha Sarokar

१७ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

मङ्गलबारे । निर्माण थालिएको नौ वर्ष हुँदा पनि इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका जोड्ने पक्की पुल अझैसम्म पूरा हुन हुनसकेको छैन । विसं २०७४ मै सम्पन्न गर्नेगरी २०७१ असार २७ मा ठेक्का सम्झौता गरिएको पक्की पुल हालसम्म पनि सम्पन्न नहुँदा स्थानीयवासी निराश भएका छन् । हिउँदमा त खोलाबाट नै गाडी वारपार गर्छन् तर बर्खायाम सुरु भएसँगै पारीको गाडी पारी नै वारीको वारी नै हुनेहुँदा खाद्यान्न ढुवानी गर्न र बिरामी पर्दा समस्या हुने गरेको छ । पक्की पुलदेखि नजिकै माथि झोलङ्गे पुल छ ।

स्थानीयवासीले सोही झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दै आएका छन् । पुलको मुख दुवैतिर निकै जोखिम मोलेर मोटरसाइकल तार्नुपरेको सम्बद्ध यात्रुको गुनासो छ । इलाम नगरपालिका-५ को बरबोटे र माइजोगमाई ५ को सोयाङ जोड्ने दूधाङमा पक्की पुल निर्माणका लागि २०७१ असार २७ मा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । सम्झौतामा २०७४ सालमा नै सम्पन्न गर्नुपर्ने उल्लेख भए पनि पुल हालसम्म सम्पन्न नहुँदा स्थानीयवासी निराश भएका छन् ।

पटक-पटक म्याद थप भएर पनि निर्माण सम्पन्न नहुँदा पुलबाट आवतजावत गर्न पाइने आशामा रहेका यहाँका बासिन्दामा उत्तिकै निराशा छाएको स्थानीयवासी बालकुमार पोख्रेलले बताए । उनले वर्षौंदेखिको आशा अब नयाँ जनप्रतिनिधिले पूरा गर्ने विश्वाससमेत व्यक्त गरे । डिभिजन सडक कार्यालयका अनुसार सम्झौता अवधिमा काम नसकिएपछि २०७४ पुस २७ सम्मलाई पहिलो पटक म्याद थपिएको हो । नेशनल निलगिरि जेभीले ठेक्का पाएर पनि निर्माण सम्पन्न गर्न सकेको छैन ।

उक्त कार्यालयले रु पाँच करोड ८५ लाखमा ठेक्का लगाएको सो काम निलगिरि जेभीले दुई वर्षभित्रै सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । इलाम सदरमुकामबाट माइजोगमाई केन्द्रसम्म दैनिक दर्जनौँ सवारी साधन चल्छन् । इलाम र नयाँ बजार करिब २२ किलोमिटरमा सडकबीचको पुल सम्पन्न नहुँदा खोलाबाटै कठिन यात्रा गर्नुपरेको स्थानीयवासी र चालकको भनाइ थियो । अर्का स्थानीयवासी टीकानाथ ढुङ्गानाले हिउँदमा जे भए पनि बर्खायाममा भने सास्ती खेप्नुपर्ने भएको बतए । यो पुलको एकातर्फ नेकपा (एमाले)का संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ र अर्कातर्फ पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो ।

पुल सञ्चालनका लागि अब पहल गरिने इलाम नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले बताए । अब यो पुल निर्माण गर्ने कम्पनीसँग छलफल गरेर अघि बढ्ने इलाम नगरपालिकाका प्रवक्ता नुतेदेव दुलालको भनाइ थियो । उनले के कारणले यति समय भइसक्दा पनि यो पुल निर्माण हुन नसकेको हो यस विषयमा आफूहरुले चासो बढाउने बताए । निर्माणधीन पुलबाट इलाम नगरपालिका तथा माइजोगमाई गाउँपालिका हुँदै सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका एवं भारतका विभिन्न ठाउँका बासिन्दालाई सहज हुन्छ । स्थानीयवासीको सहजताका लागि आफूहरुले सम्बन्धित निकायसम्म पुगेर खबरदारी गर्ने नवनिर्वाचित नगरप्रमुख केदार थापाले बताए । उनले अब निराशा नहुन पनि स्थानीयवासीलाई आग्रह गरे ।

नगरप्रमुख थापाले समस्या समाधानका लागि आफ्नो ध्यान गइसकेको र तत्काल निर्माणकार्य सम्पन्न गराउन पहल गरिएको बताए । इलाम सदरमुकामदेखि माइजोगमाईको केन्द्र नयाँ बजारसम्म पुग्ने मोटरबाटो ग्राभेल गरिएको छ । केही हदसम्म बर्खायाममा पनि सवारीसाधन सञ्चालन हुने सडकको बीचमा रहेको खोलामा पुल नहुँदा समस्या हुँदै आएको छ । काम गर्ने ठेकेदार कम्पनीले नै हो तर स्थानीयवासी तथा जनप्रतिनिधिले खबरदारी गर्न नसक्दा पनि यो पुल निर्माण हुन नसकेको हो । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबिचको माइखोलामा निर्माणाधीन यो पुल थालिएको नौ वर्ष पूरा हुँदा पनि अलपत्रै छ । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी