काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले म्याग्दीको मङ्गला गाउँपालिका –१, कुहुँको पैयुपाटास्थित बारीमा लगाइएको बदाम गोडमेल गर्दै किसानदेखि म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीको श्रीस पशुपालन तथा कृषि फार्ममा गरिएको बोयर जातको बाख्रापालन । डाँडाखानीका धनबहादुर श्रीसले विदेशबाट फर्केपछि सञ्चालन गरेको यो फार्ममा ७० वटा बोयर जातका बाख्रा सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।
हेरौं फोटो समाचारः
म्याग्दीको मङ्गला गाउँपालिका –१, कुहुँको पैयुपाटास्थित बारीमा लगाइएको बदाम गोडमेल गर्दै किसान ।
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीको श्रीस पशुपालन तथा कृषि फार्ममा गरिएको बोयर जातको बाख्रापालन । डाँडाखानीका धनबहादुर श्रीसले विदेशबाट फर्केपछि सञ्चालन गरेको यो फार्ममा ७० वटा बोयर जातका बाख्रा छन् ।प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोहमा सहभागी हुने क्रममा ।
अन्नपूर्ण आरोहण दिवस मनाउनका लागि पोखराबाट पर्वतको मोदी गाउँपालिका–४, लेसपारमा जाने तयारीमा सहभागी । ट्रेकिङ एजेन्सीज एशोसिएशन (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले यस वर्ष अन्नपूर्ण आरोहण दिवस लेसपारमा गर्दैछ ।
चन्द्रागिरि नगरपालिका वडा नं १, दहचोकबाट देखिएको काठमाडौँ उपत्यका ।
राप्ती लोकमार्ग अन्तर्गत दाङको तुलसीपुर बजारमा कालोपत्रे गरिँदै । यसअघि बजारमै कालोपत्रे नहुँदा धुलाम्मे हुने गरेको थियो ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा रहेको जिल्ला समन्वय समिति ताप्लेजुङको भवन ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, नाकोतेमा निर्माण भएको झोलुङ्गेपुल । पुल निर्माण भए लगत्तै गत वर्ष असार र साउनमा आएको बाढीले पुल बगाएपछि हेलम्बुका मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायतका स्थानीयवासीलाई तुइनमा झुण्डिएर मेलम्ची खोला वारपार गर्नुपर्ने बाध्यता थियो ।
कैलालीको गोदावरी नगरपालिका–४ खैरानामा ट्युबवेल बोरिङको शिलान्यास गर्दै नगरप्रमुख वीरेन्द्र भट्ट ।
नेपाली सेनाको पश्चिम कमाण्डपति उपरथी प्रेम शाही शुक्रबार सुर्खेतको गुर्भाकोट नगरपालिका १४ गुमीस्थित जनसंयुक्त आधारभूत विद्यालयको नवनिर्मित भवनको ‘नमुना आकृति’ विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्दै । सेनाले रु ७० लाख लागतमा चार कोठे भवन निर्माण गरेको हो ।
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा धानको बीउ काढ्दै किसान । म्याग्दीको उच्च पहाडी क्षेत्रमा धान रोपाँइ सुरु भएको छ ।
पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–४, बरंजा आरकुलीका किसान रेशम बूढाथोकीको नर्सरीमा हुर्किदै गरेका सुन्तलाका बिरुवा । बूढाथोकीको नर्सरीमा स्थानीय बाँसखर्क जातका ४० हजार सुन्तलाका बिरुवा रोप्न तयारी अवस्थामा छन् ।
बागलुङ जिल्ला सदरमुकामस्थित सरकारी कार्यालय क्षेत्रको सडकमा सघन सहरी विकास आयोजना बागलुङको रु. चार करोड लागतमा नाली, पूर्वाधार निर्माण सकेर सडक कालोपत्रेको तयारी गरिँदै ।