काठमाडौं । नेपाल फाइनान्सको हकप्रद सेयरमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीको ७० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज जेठ २६ गते बिहीबार अन्तिम दिन रहेको हो । बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने भएको छ । कम्पनीले जेठ ६ गतेबाट १ः०.७० अनुपातमा ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।
हकप्रद सेयरका लागि यसले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ वैशाख २० गतेसम्म कायम सेयरधनीले मा हकप्रद भर्न पाउनेछन् । यो हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ ।
यसमा प्रभु क्यापिटल तथा नेपाल फाइनान्सको केन्द्रीय तथा शाख कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।