सुदूरपश्चिम । निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत कैलाली जिल्ला सडकखण्डको काँन्द्रा नदी माथिको पुल निर्माण ११ वर्षदेखि अलपत्र छ ।उक्त पुल निर्माण गर्न वि.सं २०६८ मा निर्माण सम्झौता भए पनि अझैँ पूरा हुन सकेको छैन । पुल निर्माण अलपत्र पर्दा नदी वारपार गर्न समस्या हुनेको स्थानीयवासीको गुनासो छ । वर्षायाममा काँन्द्रा नदीमा पानीको सतह बढेको बेला नदी वारपार गर्न नसकेर आवागमन थप असहज हुने गरेको स्थानीयवासीको गुनासो छ ।
हुलाकी सडक आयोजना कार्यालय कैलाली–कञ्चनपुरका प्रमुख सविनराज जोशीले पुल निर्माण सुरु भइसकेपछि बीचमा पुलको डिजाइन परिवर्तन गर्नुपरेको र दुई वर्षजति कोरोना महामारीको समस्या आउँदा पुल निर्माणमा ढिलाइ भएको बताए । “यो वर्ष निर्माण व्यवसायीले आफूसँग पैसा नभएको भन्दै निर्माणको काम तीव्ररुपमा अघि बढाउन सकेका छैनन्”, उनले भने, “स्थलगत अनुगमन निरीक्षण गर्ने क्रममा सम्बन्धित व्यवसायीलाई निर्माणको काम छिटै सक्न निर्देशन दिएका छौँ ।”
उक्त पुल निर्माणमा लामा विल्डर्स, साल्पा शेर्पा र बिरुवा कन्ट्रक्सनसमेत तीन निर्माण कम्पनी संलग्न रहेकामा हाल बिरुवा कन्ट्रक्सनले काम गरिरहेको बताइएको छ ।
दुई दिनअघि हुलाकी राजमार्गको निर्माण कार्यको स्थलगतरुपमा अनुगमन निरीक्षण गर्नुभएका कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले समयमै पुल निर्माण पूरा गर्नमा सम्बन्धित व्यवसायीले लापरवाही गर्दा सहज आवागमनमा समस्या देखिएको बताए।
प्रजिअ थापाको नेतृत्वमा रहेको स्थलगत अनुगमन निरीक्षण टोलीमा हुलाकी राजमार्ग आयोजनाका प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका जिल्लास्थित प्रमुख पनि सहभागी थिए । कैलाली जिल्लाको हुलाकी राजमार्ग खण्ड भारत सरकारको सहयोगमा केही वर्षअघि नै निर्माण पूरा गरिएका थिए । हाल नेपाल सरकारको आफ्नै स्रोतसाधनमा यो राजमार्गको स्तरोन्नति गर्ने कार्य भइरहेको छ ।
यस राजमार्गको ग्रामीण क्षेत्रमा ‘दुई लेन’को र सहरी क्षेत्रमा ‘चार लेन’को सडक बनाएर स्तरोन्नति गर्ने काम भइरहेको छ । यस क्रममा कैलालीको धनगढीदेखि सत्ती बजार पूर्वपश्चिमसम्मको ६२ किलोमिटरको हुलाकी राजमार्गमध्ये १८ किमी सडक खण्डमा कालोपत्र गरी स्तरोन्नति भइसकेको छ । थप खण्डमासमेत स्तरोन्नतिको काम भइरहेको छ । यस्तै धनगढीको क्याम्पस चोकदेखि मोहना पुलसम्मको सात किलोमिटर ‘वाइपास’ हुलाकी सडकमध्ये छ किलोमिटर कालोपत्र गरेर स्तरोन्नतिको काम पूरा भएको छ ।
विगतमा रुख कटानी हुन नसकेर काम अघि बढ्न नसकेको कैलालीको वसन्ता वन क्षेत्रका खण्डमा हाल समस्या सामाधान भई राजमार्ग निर्माणाधीन रहेको छ । वसन्ता जङ्गल क्षेत्रका खण्डमा पर्ने रुख कटानीको अनुमति दिन भएको ढिलाइले निर्माण कार्य पनि ढिलो सुरु गरिएको हो । विगतका वर्षमा आएको बाढीले कटान गरेर भत्किएको कैलालीको भजनी र लालबोझी क्षेत्रको हुलाकी सडकखण्डमा पुनः निर्माणको काम सुरु गर्ने तयारी भइरहेको आयोजना प्रमुख जोशीले बताए ।
यस्तै कैलालीको लम्कीदेखि सत्ती बजारसम्मको २७ किलोमिटर उत्तर दक्षिण हुलाकी राजमार्गको पनि स्तरोन्नति भइरहेको छ । कञ्चनपुर जिल्लाको डोके बजारदेखि बेलौरी र बेलडाँडी हुँदै दैजीसम्मको ६२ किलोमिटर लामो हुलाकी राजमार्गमध्ये ३५ किलोमिटर खण्डमा कालोपत्र भई स्तरोन्नति भइसकेको छ । कञ्चनपुरमा हुलाकी राजमार्गको अन्तिम बिन्दु दैजी बजार हो ।
एसएसबीको अवरोध
भारतीय सीमासुरक्षा बल एसएसबीले हुलाकी राजमार्ग निर्माण भएको कञ्चनपुरको बेलौरी बजार नजिकको पचुई क्षेत्र भारतको भूमि रहेको जनाउँदै पुर्याएको बाधा अवरोधका कारण सो क्षेत्रमा सडकको स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन । यसैगरी कैलालीको पूर्व दक्षिणतर्फको सत्ती बजार नजिकको हुलाकी खण्डमा समेत एसएसबीले सीमा विवाद झिक्दा सो क्षेत्रमा समेत सडक कालोपत्र हुन सकेको छैन । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्