×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत् व्यापार शुरु भएकोमा इपान प्रसन्न, निजी क्षेत्रको सहभागिता हुनुपर्नेमा जोड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विद्युत् व्यापार शुरु भएकोमा इपान प्रसन्न, निजी क्षेत्रको सहभागिता हुनुपर्नेमा जोड

Artha Sarokar

२७ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । स्वतन्त्र ऊर्जा उद्यमीहरुको संस्था इपानले लामो प्रयासपछि नेपालको बिजुली भारत निर्यात हुन थालेकामा प्रसन्नता व्यक्त गरेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको वर्षायाममा आन्तरिक खपतभन्दा बढी हुने विद्युत बेच्नका लागि प्रक्रिया अघि बढाएको र त्यसमा सफलता हासिल गरेकामा इपानले स्वागत गरेको छ । इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले आज जारी गरेको विज्ञप्ति अनुसार प्राधिकरणको यस कदमले विद्युत निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्ने मुलुकको बहुप्रतिक्षित सपना साकार हुने अवस्थाको सुरुआत भएको छ ।

अघिल्लो वर्षायाममा ३९ मेगावाट बिजुली निर्यात शुरु भएकामा प्राधिकरणले यो वर्ष ३६४ मेगावाटसम्म निर्यात गर्न सक्ने अवस्थामा पुग्नु अत्यन्त सुखद कुरा भएको अध्यक्ष आचार्यले जानकारी दिए । आगामी दिनहरुमा नेपालको जलविद्युतले छिमेकी मुलुकमा अझै राम्रो बजार प्राप्त गर्न सक्ने आधार र विश्वासको निर्माण गरेको स्पष्ट पार्दै इपानले विद्युत ब्यापारको यस्तो प्रगतिशील कदमले उर्जा क्षेत्रका निजी लगानीकर्तामा ठूलो आशा, विश्वास र हौसला बढाएको उल्लेख गरेको छ ।

विद्युत निर्यातको लागि प्राधिकरणले भारतीय कम्पनीहरू मानिकरण पावर लिमिटेड र एनटिपिसी विद्युत व्यापार निगम लिमिटेडलाई टेन्डर छनोट प्रक्रिया अगाडि बढेको जानकारी गराउँदै इपानले छनोट भएकामध्ये, मानिकरणले प्रतियुनिट भारु ४.८६ (७.७७६ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट र एनभिभिएनले प्रतियुनिट भारु ४.३० (६.८८ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट गरी २०० मेगावाट बिजुली खरिद गर्ने छ । त्यसबाट प्राधिकरणले आगामी जुलाई १ देखि नोभेम्बर १५ (असार १७ गतेदेखि कात्तिक २९गते) सम्म ६४ करोड ८० लाख युनिट बिजुली बिक्री गरी रु. चार अर्ब ७४ करोड ८५ लाख ४४ हजार आम्दानी गर्नेछ । सम्झौताअनुसार मानिकरणले एनभिभिएनभन्दा प्राधिकरणलाई रु. २९ करोड तीन लाख बढी भुक्तानी गर्नेछ ।

इपानले यो उपलब्धीलाई ऊर्जा उत्पादनमा निजी क्षेत्र संलग्न भएको उपजका रुपमा लिएको छ । करिब तीन दशक अघिदेखि ऊर्जा उत्पादनका क्षेत्रमा निजी क्षेत्रको सार्थक सहभागिताका कारण हाल वर्षा याममा एक हजार मेगावाटभन्दा अधिक बिजुली आन्तरिक खपतभन्दा बढी हुन थालेको छ । यसरी बढ़ी हुने एक हजार मेगावाट मध्ये ३६४ मेगावाट विनिमय बजारमा तथा २०० मेगावाट मीडियम टर्म बजारमा बिक्री हुनेछ । बाँकी ४३६ मेगावाट को भने अझै बजार खोज्नु पर्ने नै देखिन्छ ।

विद्युत व्यापारमा हाल सरकारको मात्र सहभागिता रहेको छ । मुलुकमा वर्षेनी ठूलो परिमाणमा विद्युत उत्पादन हुन थालेको सन्दर्भमा विद्युत उत्पादन, प्रशारण र वितरण अब सरकारले मात्र गर्न संभव नभएको इपानले जनाएको छ । त्यसका लागि सरकारले विद्युत ब्यापारमा निजी क्षेत्रको सहभागिताका लागि मार्गप्रशस्त गरिदिनुपर्नेमा जोड दिएको छ । सरकारले बिद्युत ब्यापारमा निजी क्षेत्रको सहभागीता गराउन भनेर निर्माण गरिरहेको ऐन, कानुन तथा लाइसेन्सको प्रक्रिया अत्यन्त सुस्त गतिमा अघि बढेको भन्दै तत्काल प्रक्रिया मिलाइदिन आग्रह गरिएको छ । सरकारले १० वर्षमा १५ हजार मेगावाट बिद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्यलाई साकार पार्न पनि निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनुपर्ने माग दोहोर्याइएको छ । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी