अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले पोखराको चिप्लेढुङ्गामा जुत्ता सिलाउँदै गरेकी कमला चौधरीदेखि रामपुर नगरपालिकाका कार्यपालिका सदस्यहरु आलु लगाउँदै गरेकासम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पोखराको चिप्लेढुङ्गामा जुत्ता सिलाउँदै कमला चौधरी । उहाँ बिगत पाँच बर्षदेखि जुत्ता सिलाउने काम गर्दै आउनु भएको छ ।

रामपुर नगरपालिकाका कार्यपालिका सदस्यहरु आलु लगाउँदै।

पोखरा महानगरपालिका वडा नं २१ बाझीका ८७ वर्षीय टेकनाथ भण्डारी रुखको घाँस झारेर भारी बाँध्दै ।

पोखरा महानगरपालिका वडा नं २१ बाझे पोखरीमा लोप हुँदै गएको पुरानो शैलीको घुमाउरो घर ।

बैतडीको पाटन–पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वर खण्डको शिवनाथ क्षेत्रमा सडक स्तरोन्नती हुँदा रोकिएका सवारी साधन । संघीय र प्रदेश सरकारको रु ४१ करोड सहयोगमा मेलौलीदेखि पञ्चेश्वरसम्मको २५ किलोमिटर सडक स्तरोन्नती भइरहको हो ।

गाई, भैंसीको मललाई सङ्कलन गरि इन्धनको रुपमा खाना पकाउन, गाई, भैंसीलाई दाना तथा आगो बाल्न दाङको तुलसीपुर–१२ को एक घरमा बनाएका गुँइठा । दाउराको अभावलाई कम गर्न मलमा पराल मिलाएर दाङका विभिन्न क्षेत्रमा स्थानीयहरुले गुँइठा बनाउने चलन छ ।

कञ्चनजङ्घा पदमार्गमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित जौबारीबाट देखिने झरनाको दृश्य ।

पाल्पा, तानसेनको फूलबारी देखिएको पुतली । फूलबारी फूल लाग्न थालेसँगै पुतली देखिन्छन् ।

चिनी मिलमा बिक्री गर्न लैजान बेलडाँडी गाउँपालिका–३ बैवाहाका किसान ट्रालीमा उखु राख्दै । उखु प्रतिक्वीन्टल रु ५०० भन्दा बढीमा बिक्री हुँदै आएको छ ।

बेलडाँडी गाउँपालिका–३ बैवाहाका किसानले टनेलमा फलाएको गोलभेडा।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित खट्टारमा गाडीमा इँट्टा लोड गर्दै श्रमिक । बन्दाबन्दीपछि निर्माणको कामले गति लिइरहँदा निर्माण सामग्रीको माग बढिरहेको छ । 

सरकारले घोषणा गरेको देशभरका १०० पर्यटकीय गन्तव्य मध्येको एक पोखरा महानगरपालिका–२० मौजा आँटीघर गाउँ । ग्रामीण संस्कृति तथा दृश्यावलोकनका लागि यस ठाउँ परिचित छ ।
