गण्डकी । पर्वतको मोदी गाउँपालिका–४ लेस्पारमा मनबहादुर पुनको जिजुवाजेका पालामा बनेको ऐतिहासिक घर छ । घर ठ्याक्कै कुन मितिमा बन्यो त्यसको यकिन तथ्य फेला नपरेपनि जिजुवाजेले घर बनाउने कर्मीलाई दैनिक एक मोहोर (५० पैसा) ज्याला तिरेर बनाएको आँफूले बाल्यकालमा नै सुनेको पुनले बताए । समुद्री सतहबाट एक हजार ९१० मिटरदेखि दुई हजार १९५ मिटर उचाइसम्म फैलिएको यस गाउँमा मनबहादुरकै जस्ता प्राचीनकालमा बनेका सुन्दर ढुङ्गाले छाएका घर देख्न सकिन्छ ।
ढुङ्गैढुङ्गाले छाएका घर, ढुङ्गा छापिएका चौडा सिँढी–बाटा, सडक बत्तीसँगै सरसफाइमा ध्यान दिइएको हुँदा यहाँ पुग्ने जो कोही फुरुङ्ग हुने गर्छन् । गाउँ प्रकृतिमा मात्र नभइ संस्कृतिमा पनि उत्तिकै सम्पन्न रहेको बताउँदै पुनले पछिल्ला वर्षमा गाउँमा लेस्पार सामुदायिक होमस्टेसमेत सञ्चालनमा ल्याइएको बताए । मगर समुदायको बाहुल्यता रहेको गाउँमा ९९ प्रतिशत मगर र एक प्रतिशत दलित जातको बसोबास छ ।
लेस्पार पर्वतको सुदूर उत्तर कालाञ्जर९हमपाल० पर्वतको काखमा रहेको सुन्दर बस्ती हो । यस बस्तीको उत्तरमा अन्य कुनै बस्ती छैनन् । पदयात्रा पर्यटनको पनि गन्तव्यस्थल भएका कारण वि.सं २०७१ देखि निजी घरवास सञ्चालनमा ल्याइएकोमा २०७५ सालपछि गाउँपालिकामा विधिवत् घरवास दर्ता गरी व्यवस्थित रुपमा चलाउन थालिएको छ । यहाँका १२ घरमा घरवास सञ्चालन भएको र ४० शय्या बराबरको पाहुना अट्ने व्यवस्था मिलाइएको लेस्पार सामुदायिक होमस्टेका सचिव नरसिंह पुनले जानकारी दिए ।
पदयात्राको आकर्षक गन्तव्य यो गाउँ पुग्न विभिन्न पाँच मार्ग रहेका छन् । पहिलो मार्गमा पोखरा–बागलुङ राजमार्गअन्तर्गत पोखरा नयाँपुलदेखि देउराली९पूर्ण गाउँ० हुँदै करिब नौ घण्टाको पैदलमार्गबाट लेस्पार पुग्न सकिन्छ । दोस्रो पर्वत पातिचौरदेखि टिमुरे क्याङहुँदै करिब चार घण्टाको पैदल मार्गबाट लेस्पार पुग्न सकिन्छ । सवारी साधनहुँदै जानको लागि पातिचौरदेखि बाजुङ, खुँईजरी, क्याङ हुँदै करिब तीन घण्टामा लेस्पार पुग्न सकिन्छ ।
तेस्रो कुश्मादेखि दुर्लुङबोट, हलहले, मेकसारहुँदै सवारी साधनबाट साढे तीन घण्टाको समयमा लेस्पार पुग्न सकिन्छ । त्यस्तै चौथो मार्ग घोरेपानीबाट पुनहिल, मुहुरे डाँडा, नागी हुँदै १२ घण्टाको पैदलयात्राबाट लेस्पार पुग्न सकिन्छ भने पाँचौँ मार्गका रुपमा घोरपानीबाट पुनहिल, मुहुरेडाँडा, जलजलाहुँदै नौ घण्टाको पैदलयात्राबाट लेस्पार पुग्न सकिन्छ । यस क्षेत्रको पदयात्रासँगै यहाँस्थिल पवित्र तीर्थस्थल सहस्रधारा बराह मन्दिरको अवलोकन एवं दर्शन, भीर मौरीको अवलोकन, सबैथरीका गुराँसको अवलोकन, माटेको ढुङ्गा खानी, कालाञ्जर पर्वतको अवलोकन आदि गर्न सकिन्छ ।
घोरेपानी, पुनहिललगायतका पदमार्गसँग जोडिने गाउँ भएकोले लेस्पार पदयात्रा पर्यटनमा पनि उत्तिकै महत्वपूर्ण गन्तव्य रहेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले बताए । “लेस्पार पदयात्रा पर्यटनसँग जोडिएको ऐतिहासिक गाउँ हो, यसको प्रवद्र्धनमा टान पश्चिमाञ्चलले चासो दिएको छ” उनले भने, “लेस्पारको प्रवद्र्धनकै लागि हामीले यस वर्षको ७२औँ अन्नपूर्ण आरोहण दिवस लेस्पारमा मनाएका छौँ ।”
पदयात्रा पर्यटन व्यवसायीसँगै सञ्चारकर्मी, जनप्रतिनिधि तथा स्थानीय र सरोकारवाला निकायका प्रतिनिधिसहितको उपस्थितिमा यहाँको पर्यटकीय सम्भावनालाई उजागर गर्नका लागि छलफलसमेत बढाइएको उनले बताए । यहाँ आउने पर्यटकले गाउँबाट नजिकै पर्ने धार्मिक महत्वका सहस्रधारा मन्दिरको अवलोकन एवं दर्शनसँगै पर्वत जिल्लाको एक मात्र सिमसार क्षेत्र जलजलाको अवलोकन गर्न पाउँछन् ।
धार्मिक एवं जैविक विविधताले सम्पन्न कालाञ्जर हमपाल पर्वतको अवलोकन पनि यस क्षेत्रको भ्रमणको अर्को महत्वपूर्ण पक्ष हो । यहाँ आएका पर्यटकले विभिन्न सुगन्धित जडीबुटी, नागवेली पाउडर, लौठ सल्ला, बुँगे सल्ला, चाल्ने सिस्नो, लोक्ता, आदि जडीबुटी प्रत्यक्ष अवलोकन गर्न पाउने बताउँदै पुनले यहाँको जङ्गलमा फागुनदेखि जेठसम्म विभिन्न थरीका फूल तथा सबै थरीका लालिगुराँस अवलोकन गर्न पाइने बताए ।
लेस्पार सामुदायिक घरवासमा परम्परागत मगर संस्कृतिमा आधारित गीत तथा नृत्य आदि अवलोकन गर्ने व्यवस्था पनि मिलाइएको छ । लेस्पारको प्रचुर पर्यटकीय सम्भावना रहेको बताउने मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा यहाँको प्रकृति, संस्कृतिसँगै पदयात्रा पर्यटनको सम्भावनालाई उजागर गर्नु जरुरी रहेको बताउँछन् । लेस्पारको पर्यटकीय विकासमा गाउँपालिकाले पूर्णरुपमा साथ र सहयोग गर्ने अध्यक्ष शर्माले बताए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्