काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले मुस्ताङको घरपझोङ गाउँपालिकाको ढुम्वा ताल परिसरमा निर्माण भएको रेलिङसहितको पैदलमार्ग । भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले ८५ मिटर पैदलमार्ग र पहिरो रोकथामका लागि ४० थान ग्याविन जाली भरेर पर्खाल बनाएकोदेखि म्याग्दीको मङ्गला गाउँपालिका–२ रनबाङमा ट्र्याक्टरले खेत जोतेर धान रोपाइँ गर्दै स्थानीय किसान सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।
हेरौं फोटो समाचारः
मुस्ताङको घरपझोङ गाउँपालिकाको ढुम्वा ताल परिसरमा निर्माण भएको रेलिङसहितको पैदलमार्ग । भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले ८५ मिटर पैदलमार्ग र पहिरो रोकथामका लागि ४० थान ग्याविन जाली भरेर पर्खाल बनाएको छ ।म्याग्दीको मङ्गला गाउँपालिका–२ रनबाङमा ट्र्याक्टरले खेत जोतेर धान रोपाइँ गर्दै स्थानीय किसान ।
सप्तरीको राजविराजस्थित राजरङ्गशालामा चर्दै गरेको गाईगोरु । यो राजरङ्गशालालाई हालसम्म नगरपालिका र सम्बन्धित निकायले व्यवस्थि गर्न नसकिएका कारण गौचरणका रुपमा परिणत भइरहेको छ ।
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको सरस्वती आधारभूत विद्यालयका विद्यार्थी विद्यालयले दिएको दिवा खाजा खाँदै । असहाय र अतिविपन्न परिवारका बालबालिका अध्ययन गर्ने यस विद्यालयमा अध्ययनरत कतिपय विद्यार्थी दिवा खाजाको भरमा दिन विताउने गर्दछन् ।
अन्नपूर्ण गाउँपालिका–११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा स्थानीय उत्पादन लसुन, प्याज थन्क्याउन सफा गर्दै महिला ।
वर्षाद्पछि मौसम खुलेको समयमा देखिएको दोलखाको चरिघ्याङ बजार ।
चुरे क्षेत्र संरक्षणका लागि सिन्धुली जिल्ला दुधौली नगरपालिका–३,झुँगा नजिकै कमला नदी किनारस्थित रानीवासको १० हेक्टर खुला जमिनमा वृक्षरोपण गर्दै स्थानीयवासी । एकै दिन यस क्षेत्रमा मात्र १६ हजार बिरुवा रोपिएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले जनाएको छ ।
लामो सयमदेखि पुतली सडकको मूल सडक र पेटीमा थुप्रिएको फोहर बिहानै उठाउँदै । सडक पेटीमा फोहर थुपार्दौ पैदलयात्रु भने सडकबाट हिँड्ने क्रम अन्त्य हुने भएको छ ।
बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोट पुग्नका लागि सोही वडाको सिमबाट बनाइएको आकर्षक पदमार्ग ।