×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘चौतर्फी दबाबका बीच ब्रोकरको सवालमा निर्णय गर्न सजिलो थिएन, अर्थमन्त्रीले दाई-भाइलेझैँ सहयोग गर्नुभयो’ (अन्तर्वार्ता)

PRIME CA

‘चौतर्फी दबाबका बीच ब्रोकरको सवालमा निर्णय गर्न सजिलो थिएन, अर्थमन्त्रीले दाई-भाइलेझैँ सहयोग गर्नुभयो’ (अन्तर्वार्ता)

२२ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: < ६ मिनेट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गरेर नेपाली सेयर बजारमा सिमित ब्रोकरहरुको सिण्डिकेटलाई ‘ब्रेक’ गरेका छन् । ‘सेयर बजार हाम्रोमात्र हो, र हामी यहाँका राजा हौँ’ भन्ने शैलीमा ब्रोकरहरुको वर्षौंदेखिको ज्यादतीको अन्त्य हुनेगरी हमालले बोर्डको मापदण्डभित्र रहेका सबैलाई ब्रोकरको लाइसेन्स दिनेगरी निर्णयमात्र गरेका छैनन्, नेपालको समग्र सेयर बजारलाई नै धिमिलो पार्ने र आफुमात्र खान पल्केका सिमित ब्रोकरहरुको चलखेललाई ‘इतिश्री’ गरिदिएका छन् । यो निर्णयसँगै हमालको चौतर्फी प्रशंसा सुरु भएको छ । यतिमात्र होइन यो निर्णयसँगै धितोपत्र बोर्डमा पनि ‘कुलमान’को आगमन भएको भान भएको प्रतिक्रिया धेरैले दिएका छन् ।

यसो त हमालले जे गरे, त्यो साँचो अर्थमा सेयर बजारमा गरिएको एउटा ‘क्रान्ति’ नै हो । सिमित ब्रोकरहरुको असिमित चलखेल र दबाबका बीच उनले गर्छु भनेको काम गरेरै छोडे । उनको यो निर्णयसँगै अव नेपालमा बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स दिने बाटो खुला मात्र भएको छैन, ब्रोकरहरुको तह नै खुलाएर प्रष्ट नीति बनाइएकाले अव मापदण्डभित्र पर्ने जो कोहि नेपालमा ब्रोकर हुन सक्ने भएकाले भविष्यमा यो क्षेत्रमा काम गर्छु भन्नेले लाइसेन्स पाउने अवस्था आएको छ । यसले सेयर बजारलाई त राम्रो बनाउँछ नै, स्टक डिलरहरुले अव बजारलाई थप व्यवस्थित र सन्तुलित बनाउन सक्ने बाटो पनि खुलेको छ ।

तर राजनीतिले गिजोलेको धितोपत्र बोर्डमा यस्तो ‘क्रान्तिकारी’ काम कसरी सफल भयो ? हामीले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालसँग संक्षिप्त कुराकानी गरेका छौं ।

१. निर्णय त ‘क्रान्तिकारी’ नै भएछ नि, सिमित ब्रोकरले राज गरेको ठाउँमा सबैलाई ब्रोकरको लाइसेन्स दिनेगरी नीति बनाउँदा प्रेसर आएन ?
सुरुमा त सबैले के बुझ्नुपर्छ भने, हाम्रो सेयर बजार सिमित ब्रोकरका लागि होइन । सिमित ब्रोकरहरुको कामले मात्र हाम्रो बजारलाई बिकास गर्न पनि सक्दैन । यो बजार सबैका लागि हो भने भनेपछि, यो बजारको मुटुका रुपमा रहेका ब्रोकर कम्पनीको लाइसेन्स पनि मापदण्ड पुगेका सबैले पाउनुपर्छ । यसअघि जे थियो, गलत थियो । अव मापदण्ड पुगेका सबैले ब्रोकर लाइसेन्स पाउनुहुन्छ । यो अनिवार्य थियो र मैले मेरो कार्यभार सम्हाल्दै गर्दा पत्रकार मित्रहरुसँग पनि म यो काम गर्छु नै भनेको थिएँ । जे बोलेँ, त्यो पूरा गरेँ ।

जहाँसम्म प्रेसरको कुरा छ, प्रेसर कति थियो भन्ने कुरा त मलाई मात्र थाहा छ । ब्रोकरहरुको मात्र होइन, राजनीतिक प्रेसर पनि उस्तै थियो । तर मलाई अर्थमन्त्रीले खुब सहयोग गर्नुभयो । बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्छ वा लाइसेन्स भनेको सिमित व्यक्तिलाई मात्र दिनु हुँदैन बन्ने कुरामा उहाँ सार्है जानकार हुनुहुँदो रहेछ । अझ खुलेर भन्दा मलाई अर्थमन्त्रीले यो विषयमा ‘दाजु-भाई’ जसरी सहयोग गर्नुभयो । मैले गरेका ‘लजिकल’ कुराहरुलाई कतै पनि नाई भन्नुभएन । ब्रोकरहरुले उहाँलाई पनि प्रेसर दिएका थिए भन्ने मैले बुझेको छु । तर उहाँको अडानका कारण यो काम सफल भयो । अर्थमन्त्रीको कार्यशैली प्रति धेरै खालका टिका टिप्पणी भएका छन् । तर सबैलाई ब्रोकरहरुको सिमित कोटा खारेज गर्ने कुरा अर्थमन्त्रीको जोडबल विना सम्भव थिएन ।

२. पत्रकार सम्मेलनका क्रममा त तपाईंले यस्तै धेरै क्रान्तिकारी कुरा गर्नुभएको छ त ? पूरा गर्न सक्नुहुन्छ ?
गरेरै छाड्छु । यो मेरो सानैदेखिको बानी हो । म जे बोल्छु, त्यो मलाई गरेरै छोड्नुपर्छ । कहिलेकाहीं त यस्तो लाग्छ, गल्ती बोलेको रहेछु भने पनि मेरो गरेरै छोड्ने बानीले मलाई दु:ख दिन सक्छ । र पनि यो मेरो इमेज हो । रमेश हमालले बोलेपछि गरेरै छोड्छ भन्ने मेरो इमेजलाई बिग्रिन दिन्न । मैले कार्यभार सम्हाल्दै गर्दा भनेका एक-एक कुरा हेक्का राखेको छु र सबै पूरा गर्छु । ब्रोकरको सवालमा यति ठुलो निर्णय लिन त मैले आँट गरेँ भने अरु काम त म गर्छु नै । मार्केट पण्डितहरुलाई ठेगान लगाउँछु भनेको छु, लगाउँछु नै, ब्रोकरहरुले समयमा पैसा दिएनन् भने कारवाही गर्छु भनेको छु, गर्छु नै । ब्रोकरको सिमित कोटा खारेज गर्छु भनेको थिएँ, गरेँ नै । लगानीकर्ताहरु यसो गरिदिए हुन्थ्यो भन्दै आउनुभयो । गर्नुपर्ने र ‘लजिकल’ लागेको कुरा तुरुन्त गर्न निर्देशन दिएको छु र काम पनि भएको छ । नहुने कुरा ‘यो हुँदैन’ भनेको छु र त्यो हुँदैन । यतिचाहिं विश्वास गर्नूस्, रमेश हमाल बोलीको पक्का छ ।तपाईंहरुले पनि सो दिनको कार्यक्रमको रेकर्ड राख्नुभएको छ, एक पटक हेर्नुहोला । जे-जे बोलेको छु, सबै एक-एकगरी पूरा गर्छु ।

३. अहिले ब्रोकरहरु पूँजी बढी भयो भनिरहेका छन् नि ?
विभिन्न तह छुट्याईएको छ । तह अनुसारको पूँजी निर्धारण गरिएको छ । २ करोडको कम्पनी खोलेर अरवौंको बजारमा हुन्छ । त्यहाँ हुने रिस्कलाई ख्याल गर्नुपर्दैन ? भोलिका दिनमा ५० अर्वको कारोबार भयो भने पनि हामीले त्यहि २ करोडको  कम्पनीमाथि भरोसा गर्ने ? पूँजी किन बढाइएको छ भन्ने सबैलाई थाहा छ। र हामीले निर्धारण गरेको पूँजी बैज्ञानिक छ । २ करोडले काम गरिरहेका बेला २० करोड पूँजी पुर्याउनुपर्दा जो कोहिलाई अफ्ट्यारो लाग्छ । अहिले भएका ब्रोकर साथीहरुलाई त्यहि भएको हुन सक्छ । तर अव हामी हाम्रो निर्णयबाट हट्दैनौं ।ब्रोकरको काम गर्नेले हाम्रो मापदण्डभित्र रहेर काम गर्नैपर्छ । दैनिक २१ अर्वसम्म कारोबार भयो कुनै दिन । बजार बलियो हुँदैगर्दा झन् बढी कारोबार हुन्छ । यस्तो बेला कम पूँजी भएका कम्पनीले बजार धान्ने कुरा हुँदैन । त्यसैले हामीले जे गरेका छौं, ठिक गरेका छौँ ।

४. ब्रोकरहरु त लाइसेन्स नै बुझाउँछौँ भनिरहनुभएको छ त ?
अव सबैलाई ब्रोकर लाइसेन्स खुला भईसकेपछि सक्नेले आवेदन दिन्छन्, काम गर्न नसक्नेले लाइसेन्स फिर्ता गर्लान्, त्यसमा हाम्रो भन्नु केहि छैन । तर सिमित व्यक्ति वा संस्थाका सिण्डिकेट तोड्नेगरी निर्णय गरिएको छ र तोडिन्छ । पूँजीको कुरामा पनि हामी हाम्रो निर्णयमा अडिक छौं ।

५. भनेपछि अव स्टक डिलरहरुलाई पनि ब्रोकरको आवश्यकता नहुने भयो, उनीहरुले पनि आफ्नो हिसावले लाइसेन्स लिएर काम गर्न पाउने भए ?
यो केसमा त नेपालमा गर्नै नहुने काम गरिएको रहेछ । बोर्डको अध्यक्ष भएको केहि दिनपछि नै मैले सम्बन्धित सबैका प्रतिनिधि बोलाएर छलफल गरेको थिएँ । ‘बजार बलियो बनाउन तपाईंहरुको भूमिका खोई ?’ भनेर प्रश्न गरेको थिएँ । उहाँहरुको कुरा सुनेपछि मैले जे भईरहेको छ, त्यो गलत भईरहेको रहेछ भनेर बुझेँ र यो समस्या समाधान गर्छु भनेको थिएँ । अव गरें । अव मार्केट मेकरहरुले मापदण्ड अनुसारको लाइसेन्स पनि लिनुहुन्छ । उहाँहरुलाई अव कुनै ब्रोकरको हात जोडिरहनुपर्ने स्थिति हुँदैन । यसले बजारलाई थप बलियो बनाउँछ । स्टक डिलर बनाउने अनि काम गर्नचाहिं नदिने भएको रहेछ । अव त्यस्तो हुँदैन ।

६. लाइसेन्स आवेदन बर्षैपिच्छे खुलाउनेगरी नियमावली प्रस्ताव तयार भएको रहेछ त, यो सम्भव छ त ?
१०० प्रतिशत सम्भव छ । नेपाल स्टक एक्स्चेन्जले पहिलो आर्थिक वर्षको हकमा ३० दिनको समय दिएर निवेदन माग गर्ने भनिएको छ । त्यसपछि प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र इच्छुक कम्पनी वा संगठित संस्थाले सिफारिसको लागि निवेदन दिनुपर्छ । त्यसपछि मापदण्ड पूरा भएको, नभएको हेरिन्छ र निवेदन प्राप्त भएको मितिले ३५ दिनभित्र नेपाल धितोपत्र बोर्डसमक्ष सिफारिस गर्नुपर्छ । सिफारिस गर्न नसक्ने हो भने किन नसकेको भन्ने पनि जानकारी चाहिन्छ । त्यसपछि हामीले सबै कुरा ठिक छ भने १५ दिनभित्र निवेदकलाई पूर्वाधार तयार गर्न सूचित गर्नेगरी ‘लेटर अफ इन्टेन्ट’ जारी गर्छौँ । पूँजी, अनुमति प्रदान सम्बन्धी दस्तुर, सञ्चालकहरुको योग्यता, संस्था प्रमुखको योग्यता, सूचना प्रविधिलाई आधार बनाएर हामी लाइसेन्स दिन्छौँ । यो सबै काम समयमा नै हुनुपर्छ । र यो काम गर्नका लागि दिइएको समय पुग्ने खालको छ । कागज पूरापूर हुनुपर्यो, काम हुन्छ । समयमा काम नगरे, जसले गर्दैन उ दण्डित हुनुपर्छ ।

७. अव ब्रोकरहरुको रुवाबासी सुरु हुने होला, सबैतिरबाट प्रेसर हुन्छ होला, आफ्नो निर्णयबाट त फिर्ता हुनुहुँदैन नि ?
त्यो सम्भव छैन । बलियो बजार बनाउनका लागि मैले जे गरेँ, त्यो ठिक गरेको छु । र मलाई कसैले पनि प्रभावमा पारेर मैले गरेको निर्णय फिर्ता गराउन सक्दैन । गलत गरेको भएपो फिर्ता गर्ने भन्ने, यति राम्रो निर्णय किन फिर्ता गर्ने ? अव कार्यान्वयन गर्ने नि ।

८. अन्त्यमा, यति ठुलो काम गर्नुभयो, सबैभन्दा बढी सहयोग र असहयोग कसले गर्यो ?
यो बजारमा हामीबाहेक कोहि आउनु हुँदैन भन्नेहरुले असहयोग गर्ने नै भए । अव असहयोग गर्नेका कुरा छोडौँ । मैले अघि नै पनि भनेँ, सबैभन्दा बढी सहयोग अर्थमन्त्रीप्रति छु । अर्थमन्त्री जनार्दन शर्माले अनेक प्रेसर सहेर पनि यो निर्णय गराउन मलाई धेरै सहयोग गर्नुभयो । उहाँको यो सहयोगका लागि म सधैँका लागि ऋणी छु । उहाँले सहयोग नगर्नुभएको भए वा ब्रोकरका मान्छेको कुरा सुनिदिनुभएको भए कुरा अर्कै हुन्थ्यो । आज जे काम भएको छ, म त सिपाहीमात्र हो, यो कामको कमाण्डर अर्थमन्त्री जनार्दन शर्माज्यू नै हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: