Skip to content
LAXMI SUNRISE BANK

हावाहुरीका कारण मकै बालीमा क्षति, किसानमा भोकमरी बढ्ने चिन्ता

अर्थ सरोकार

मान्म । कालीकोट जिल्लामा वर्षासँगै आएको हावाहुरीले मकै बालीमा क्षति पुर्याएको छ । बुधबार राति आएको वर्षासँगैको हावाहुरीले जिल्लाका अधिकांश ठाउँमा क्षति पुर्याएको हो । हावाहुरीका कारण सान्नी त्रिवेणी गाउँपालिका–८ र ९ मा सबैभन्दा बढी मकै बालीमा क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए । “गाउँपालिकाको मुख्य खाद्यान्न बालीका रूपमा लगाइने मकै बाली हावाहुरीले नष्ट गरेको छ”, उनले भने, “घोगा लाग्न लागेको बेला मकै बाली नष्ट गरेकाले किसान समस्यामा परेका छन् ।”

त्यस्तै वडा नं ६ पोरिबनस्थित बलै, तारेढुङ्गा, बुढगाउँ, माटेखर्क, भुवाडीपाटालगायत स्थानमा पनि मकैबाली नष्ट भएको स्थानीयवासी दन्तराज सज्यालले बताए । हावाहुरीले नरहरिनाथ गाउँपालिकाको वडा नं ३ लगाइएको मकै बालीमा पनि क्षति पुर्याएको स्थानीयवासी रामबहादुर बुढाले बताए । “मकैबाली नष्ट गरेको हुँदा अब अर्को बाली लगाउने अवस्था पनि छैन”, उनले भने, “पाखो बारीमा मकैबाहेक अरु केही पनि हुँदैन । त्यही पनि हावाहुरीले नष्ट गर्यो अब के गर्ने होला रु”

कालीकोटमा प्रमुख खाद्यान्न बालीका रूपमा रहेको मकैबाली हावाहुरीले नष्ट गर्दा किसानले भोकमरी बढ्ने चिन्ता गरेका छन् । जिल्लाभर नै प्रमुख बालीका रूपमा मकै बालीलाई लिने गरिएको र किसानले लगाएको बालीको बीमा गर्ने नीति अवलम्बन गरिएको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्य बताए । “थोरै जमिनमा लगाइएका अन्नबाली विभिन्न प्रकोपका कारणले नष्ट हुने गरेको छ”, उनले भने, “त्यसैले हामीले अन्नबालीको बीमा अनिवार्य गर्ने नीति लिएका छौँ ।”

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK