काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संघीय सांसद दिव्यमणि राजभण्डारीले व्यापारी नै बैंकको सञ्चालक बन्ने र अर्को बैंकबाट ऋण लिएर व्यापार गर्ने बैंकिङ संरचनाको अन्त्य गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिले आयोजना गरेको मौद्रिक नीति छलफलमा राजभण्डारीले यस्तो बताएका हुन् । उनले भने ‘बैकिङको नियम कानुनले सीमित व्यक्तिमा लगानी बढेको छ ,यसलाई नियन्त्रण कसरी गर्ने । बैंकका सीमित लगानिकर्ताका अन्य बैकसँगको लोन स्वापिङ रेसियो के छ ? एउटा समूहलाई प्रोटेक्सन गर्दा अरूलाई दुःख परेको हेर्नुपर्छ’।
सांसद राजभण्डारीले व्यापारीलाई बैंकको सञ्चालक बन्न समेत रोक लगाउनुपर्नेमा जोड दिएका छन् । बैंकका सञ्चालकले सहुलियत ब्याजमा कर्जा लिएर घर र जग्गामा लगानी गरेको भन्दै उनले त्यसमा अंकुस लगाउनुपर्ने बताए । ‘मौद्रिक नीतिमार्फत कर्मचारीले लिने कर्जा कम्तीमा पनि ५० प्रतिशत घटाओस्’ उनले भने, ‘कृषि क्षेत्रमा गएको कर्जा के मा गएको छ ? कृषिमा कर्जा लिएर व्यापारमा लगानी गर्दा तरलता अभाव भयो भन्ने लाग्छ, यसमा मूल्यांकन जरुरी छ ।’
उनले १ करोड भन्दा माथिको लगानी गर्छु भन्नेलाइ रकम अनुसारको करको स्लाब तोकरेर खुला गर्नुपर्ने बताएका हुन् । कर नबुझाउने संस्थाले लाभांश लैजान नपाउने निति ल्याउनुपर्ने र लक्जरीयस सवारि साधानमा बैकिङ फाइनान्स गर्न नपाइने व्यवस्था गर्नुपर्ने सुझाव समेत दिएका छन् ।