काठमाडौं । ए वन ग्रुपले काठमाडौंको कोटेश्वरमा १ हजार क्षमताको पार्टी भेन्यु सहितको होटल सञ्चालनमा ल्याएको छ । उपत्यकामा एवन सहित विभिन्न ब्राण्डमा ४० भन्दा बढि संख्यामा रेष्टुरेन्ट, होटेल तथा पार्टी भेन्यु संचालन गर्दै आएको सो ग्रुपले असार पहिलो साताबाट होटल संचालन गरेको हो । हिमालय कलेज रहेको भवन तथा जग्गालाई व्यवस्थित गर्दै करिब एघार करोडको लगानीमा रोयल संरचनामा अध्याधुनिक ब्याङ्क्वेट हल तथा होटल सञ्चालन गरिएको ग्रुपका सञ्चालक तथा व्यवस्थापक सुबास श्रेष्ठले जानकारी दिए । काठमाडौंको आवश्यकतालाई मध्यनजर गर्दै संस्थाले लामो समयको अध्ययनपछि होटल सञ्चालनमा ल्याएको हो ।
ठूला होटलले प्रदान गर्ने सेवा, सुविधा सस्तो शुल्कमा प्रदान गरिने भन्दै सञ्चालक श्रेष्ठले काठमाडौंमा नमुना होटलको रुपमा स्थानीय आवश्यकतालाई महशुस गर्दै फरक अवधारणमा लगानी गरिएको बताए । सो होटलमा पार्टी प्यालेस, कफि सप तथा बेकरी, रेष्टुरेन्ट तथा बार, जिम तथा ट्राभलका लागि गाडी व्यवस्था गरिएको छ । होटेलमा तीन प्रकारका कोठाको व्यवस्था गरिएको उल्लेख गर्दै श्रेष्ठले एकैपटकमा एक हजार जनालाई खाना खुवाउन सक्ने गरी सेमिनार तथा भोजभतेर गर्न सकिने हलको सुविधा रहेको जानकारी दिए ।
नेपाली, नेवारी, इण्डियन लगायतका एशियन फुड्सको सेवा उपलब्ध गराउने गरी होटल सञ्चालन गरिएको श्रेष्ठले बताए । रु २,५०० देखि रु. ५००० सम्मका बास बस्ने कोठाको व्यवस्था गरिएकाले अन्यको दाँजोमा सस्तो र गुणस्तरीय सेवा प्रदान गरिने उनले बताए । होटलमा हाल प्रत्यक्षरूपमा २४ जना कर्मचारीले रोजगार पाएका छन् । ए वान ग्रुपले विभिन्न शाखामार्फत प्रत्यक्ष रुपमा पाँच सय जनालाई रोजगारी प्रदान गरेको छ भने १३५ जनालाई उद्यमशील बनाएको छ ।