काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार कार्यक्रमकाबीच राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उक्त नीति तथा कार्यक्रममा राष्ट्र बैंकले कोरोनाको कारण स्थगित भएको काउन्टर साइक्लिकल बफर लागू गर्ने भएको छ । यस्तै बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याइएको छ ।
राष्ट्र बैंकले मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ । आर्थिक वष २०७९/८० सालको मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति गर्दा धितोपत्र कारोबार रोक्ने सम्बन्धी राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेजी गरेको जनाएका छन् । यसैगरी गभर्नर अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरेका छन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ । यसको अर्थ अब बैंकहरुले निक्षेपको ४ प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्नेछ ।
मौद्रिक नीतिको पूर्ण पाठ हेर्नुहोस् :Monetory_policy_2079-080