- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । शुक्रबार धनगढीका ४ वटा बैंकको एटिएममा खराबी देखिएको छ । धनगढीमा रहेको राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमइ बैंक, हिमालयन बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडको एटिएममा खराबी देखिएको हो ।
धनगढी चौराहमा रहेको प्रतिष्ठित मानिने राष्ट्रिय वाणिज्य बैंकको एटिएममा पैसा निकाल्नका लागि पुगेका शिवचरण रानाले एटिएमबाट पैसा नै ननिस्किएको गुनासो गरे । उक्त गुनासो प्राप्त गरे लगत्तै बैंकमा बुझ्दा एटिएममा पैसा सकिएको कारण बताउँदै छिट्टै समाधान गर्ने बैंकले बताएको छ ।
धनगढीको चौराहमै रहेको ग्लोबल आईएमइ बैंकको एटिएममा पनि खराबी देखिएको छ । बैंकको एटिएम प्रयोगका लागि पुग्ने सेवाग्राही रित्तै हात फर्किएपछि बैंकमा बुझ्दा एटिएममा प्राविधिक खराबी देखिएको बैंकले जनाएको छ ।
त्यस्तै धनगढीको रातोपुलस्थित कुमारी बैंकको एटिएम पनि केहि दिनदेखी बन्द अवस्थामा रहेको छ । एटिएममा खराबी देखिएको सुचना टाँस गर्दै बैंकले एटिएम सेवा बन्द गरेको छ । शुक्रबार भएकोले बैंक छिट्टै बन्द हुने र रकम निकासको लागि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।
उता हिमालयन बैंक लिमिटेडको एटिएमको अवस्थापनि केहि यस्तै छ । सुचना नै टाँस नगरी बैंकले एटिएम सेवा बन्द गरेको छ । बुझ्दा थाहा भयो कि एटिएममा खराबी आएपछि मर्मत नहुन्जेसम्मका लागि सेवा बन्द गरिएको रहेछ । यसरी एकैदिन धनगढी ४ बैंकको एटिएममा समस्या देखिदा सेवाग्राही मर्कामा परेका छन् ।
यता बैंकहरुले एटिएम मेसिनमा खराबी आएको बहाना बनाएर सेवाग्राहीलाई भने मुर्ख बनाइरहेका छन् । कोरोना भाइरसको अवधिभर नियामक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेवाग्राहीले जुनसुकै बैंकको एटिएम प्रयोग गरेपनि सेवा शुल्क नलिन भने पछि बैंकहरु एटिएममा प्रयाप्त रकम राखेका छैनन् । यो समस्या राजधानी काठमाडौँदेखि अधिकाशं स्थानमा देखिएको छ ।