काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई नगद लाभांस वितरणमा गरेको कडाई हटाएको छ । नेपाल राष्ट्र बैंकले कोरोना महामारीका समयमा बैंकहरुमा जोखिम बढ्नसक्ने प्रक्षेपण गर्दै नगद प्रवाहलाई नियन्त्रण गरेको थियो । तर पछिल्लो समय महामारीको संक्रमण कम हुँदै गएपछि चालु आर्थिक वर्षमा सो निर्णय फुकुवा गर्दै नेपाल राष्ट्र बैंकले नगद लाभासंको सिमा हटाएको छ ।
माहामारीका समयमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले खुद वितरण योग्य नाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस वितरण गर्न सक्ने व्यवस्था गरेको थियो । त्यसैगरी नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी दिन नपाइने व्यवस्था समेत गरेको थियो । तर साउन १८ गतेको निर्णयले यी सम्पुर्ण कडाईलाई हटाएको छ ।
यसभन्दा अगाडी खुद वितरण योग्य मुनाफा, कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न पाएका थिएनन । राष्ट्र बैंकले गरेका सो व्यवस्थाका कारण अन्तराष्ट्रिय लगानीकर्ता भएका बैंक वित्तीय संस्थालाई असहज भएको थियो । तर यो व्यवस्था हटेसँगै अन्तरािष्ट्रय जोइन्ट भेञ्चर बैंकहरु र संस्थापक लगानीकर्तालाई नगद लाभांस लिने बाटो खुलेको छ । साथै वित्तीय संस्थाका संस्थापक लगानीकर्ताहरु समेत यो निर्णयप्रति सन्तुष्ट छन् ।