काठमाडौं । गतवर्ष एनएमबि बैंक लिमिटेडको खुद नाफामा उल्लेख्य बढोत्तरी भएको छ । बैंकले सार्वजनिक गरेको गतवर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा ३ अर्ब ७० करोड १३ लाख रुपैँया खुद नाफा आर्जन गरेको उल्लेख गरिएको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । जुन गतवर्षको तुलनामा ३६.५३ प्रतिशत कम हो ।
बैंकले गरेको प्रक्षेपण अनुसार खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड २४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ३८.०३ प्रतिशतले बढेको छ । बैंकको कुल सञ्चालन आम्दानीमा १७.३८ प्रतिशतले वृद्धि भएको छ भने सञ्चालन मुनाफामा ३६.४३ प्रतिशतले बढोत्तरी भएको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपिएस) ३ रुपैयाँ ५५ पैसा बढेर २० रुपैयाँ १५ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.५० प्रतिशत बढेको छ भने जगेडा कोष १६.०६ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १२.३७ प्रतिशत र कर्जा १६.४१ प्रतिशत बढेको छ ।