काठमाडौं । आइटेल मोबाइलको ब्राण्ड एम्बासडरमा क्रिकेटर अमित श्रेष्ठ नियुक्त भएका छन् । नेपालका लागि आइटेल मोबाइलको आधिकारिक विक्रेता महालक्ष्मी अमितलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको हो । सोमबार आयोजित एक कार्यक्रममा महालक्ष्मी मोबाइल्सका बिजनेस डेपलपमेन्ट हेड राजेश पौडेल र क्रिकेटर अमित श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
श्रेष्ठलाई एक वर्षको लागि ब्राण्ड एम्बासडर नियुक्त गरिएको पौडेलले जनाएका हुन् । पौडेलले भने ‘अहिले एक वर्षको सम्झौता गरेका छौँ । आपसी समझदारीमा नवीकरण गर्दै जान मिल्छ ।’ उक्त सम्झौता अनुसार महालक्ष्मी मोबाइल्सले श्रेष्ठलाई एक वर्षका लागि क्रिकेट सामग्रीहरु प्रदान गर्ने भएको छ । क्रिकेटर अमितले क्रिकेट खेल्दा ब्याटमा आइटेल मोबाइलको लोगो प्रयोग गर्नुपर्नेछ ।
बारा कलैयाका अमितले पहिलो पटक प्रायोजक पाएकोमा खुशी व्यक्त गर्दै यसले आफूलाई धेरै सहयोग मिल्ने बताएका हुन् । उनले भने,’मैले क्रिकेट खेल्न थालेको करिब १५ वर्ष भयो । मैले पहिलो पटक यसरी प्रायोजक पाएको छु । मलाई सपोर्ट गरेकोमा महालक्ष्मी मोबाइल्सलाई धन्यवाद । यसले मेरो आगामी क्रिकेट करियरमा सहयोग पुग्ने विश्वास रहेको छ ।’
विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने अमितले फ्रेन्चाइज क्रिकेट एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग खेलिसकेका छन् ।नेपाली यू-१९ राष्ट्रिय टिमका लागि खेलिसकेका अमितले राष्ट्रिय टिममा भने खेल्ने अवसर पाएका छैनन् । उनले सन् २०१२ मा घरेलु राष्ट्रिय क्रिकेटमा लगातार दुई खेलमा शतक प्रहार गरेका थिए । अमितले सन् २०१३ मा एसीसी यू-१९ इलाइट कप र एसीसी यू-१९ एसिया कप खेलेका थिए ।
सन् २०१७ मा स्थापना भएको महालक्ष्मी मोबाइल्सले ब्राण्ड अवारनेसका लागि अमितलाई ब्राण्ड एम्बासडर बनाएको हो । ‘क्रिकेट सबैले रुचाएको खेल हो । खेलका लागि केही गरौं भनेर नै क्रिकेट खेलाडीलाई सहयोग गरेका हौं । खेलाडीलाई प्रमोट गर्दा हामीलाई पनि गर्व हुन्छ र उहाँलाई पनि सहयोग भन्ने हिसावले सहयोग गरेका हौं ‘ पौडेलले भने ।