काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा ९५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ४४.२१ प्रतिशत बढी खुद नाफा आर्जन गरेको जनाएको हो । बैंकले अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा ६६ करोड ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५८ करोड ६१ लाख रुपैयाँ रहेको छ भने खुद ब्याज आम्दानी १८.०८ प्रतिशतले बढेर १ अर्व ८९ करोड रुपैंयाँ पुगेको छ । गतवर्ष बैंकको खुद फि तथा कमिसन आम्दानी भने भने घटेको छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी २.८८ प्रतिशते घटेर २० करोड ८८ लाख रुपैयाँमा सिमित भएको छ । यस अवधिमा महालक्ष्मीको कर्मचारी खर्च २८.५२ प्रतिशत तथा अन्य सञ्चालन खर्च १४.७१ प्रतिशतले वृद्धि भएको छ । ४ अर्व १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको महालक्ष्मीको जगेडा कोषमा १ अर्व ८२ करोड रुपैयाँ तथा रिटेन अर्निग्स शीर्षकमा ५८ करोड ९३ लाख रुपैंया सञ्चित रहेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार महालक्ष्मी विकास बैंकले चौथो त्रैमाससम्ममा ४२ अर्व ३७ करोड निक्षेप संकलन गरी ३५ अर्व ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १९.७५ रुपैयाँबाट बढेर २३.७३ रुपैयाँ पुगेको छ भने बैंकको मुल्य आम्दानी अनुपात १५.९३ गुणा, प्रतिसेयर नेटवर्थ १६०.०९ रुपैयाँ, कुल सम्पतिमा प्रतिफल १.७४ प्रतिशत तथा तरलता अनुपात २८.७० प्रतिशत रहेको छ ।