काठमाडौं । काठमाडौंमा कर नतिरी संचालन भईरहेका सात क्यासिनोलाई काठमाडौं महानगरपालिकाले कर तिर्नका लागि ताकेता गरेको छ । आइतबार पत्राचार गर्दै महानगरपालिकाले कर नतिर्ने होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्याडिसनको क्यासिनो र्याडी, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई सात दिनको अल्टिमेटम दिएको हो ।
यी सात क्यासिनोले विगत चार वर्षदेखि कर नतिरेको महानगरपालिकाको राजस्व विभागले जनाएको छ । चार वर्षदेखि महानगरपालिकालाई बुझाउनुपर्ने मनोरञ्जन कर नतिरेको पाइएपछि कर तिर्नका लागि ताकेता गरेको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले बताएका छन् । अधिकारीका अनुसार वागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर पटक-पटक ताकेता गर्दा पनि सम्बन्धित संस्थाहरुले नतिरेको पाइएको हो ।
‘प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र जरिवानासहित ७ दिनभित्र कर चुक्ता गर्नका लागि अल्टिमेटम दिएका छौँ । यो अवधिभित्र उहाँहरुले जरिवानासहित महानगरलाई बुझाउनुपर्ने कर तिर्नुपर्छ ।’ अधिकारीले भने -‘महानगरको अल्टिमेटम नमाने सबै कर नतिर्ने सबै क्यासिनोलाई कानुन बमोजिम कार्वाही गरिनेछ ।’ राजस्व विभाग प्रमुख अधिकारीका अनुसार वागमती प्रदेशको आर्थिक ऐन अनुसार उठेको राजस्वको ६० प्रतिशत महानगर र ४० प्रतिशत प्रदेशमा दाखिला गर्नुपर्छ ।