काठमाडौं । महानगरलाई कर नतिरेको भन्दै नेपाली सेना र नेपाल प्रहरीलाई बहाल कर तिर्न काठमाडौं महानगरपालिकाले ताकेता गरेको छ । लामो समयदेखि नेपाली सेना र नेपाल प्रहरीले बहाल कर नतिरेको यकिन गर्दै महानगरको राजस्व विभागले कर तिर्न भन्दै पत्राचार गरेको छ ।
पटक–पटक वडा कार्यालयले ताकेता गर्दा पनि कर नबुझाएको ठहर गर्दै महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा नेपाली सेना र प्रहरीलाई पत्राचार गरिएको हो । महानगरको राजस्व विभागले नेपाल आर्मी, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई १० दिनभित्र बहाल कर बुझाउन तोकता गरको छ ।
आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको पाइएपछि वडा कार्यालयमा बहाल कर तिर्न पटक पटक ताकेता गरिएको थियो । तर, यी कार्यालयले कर भने तिरेका थिएनन् । अवभने यी कार्यालयले बहाल आम्दानीको विवरणसहित १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गएर नियमानुसार बहाल कर र जरिवाना बुझाउनुपर्ने भएको छ ।
महानगरको निर्देशन अनुसार कर नतिरे राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर असूलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाइने महानगरले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।