दाङ । दाङ क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ मतपत्र भेटिएका छन् । मतगणना गर्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिए पछि विवाद सिर्जना भएको हो । यही विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले भने जारी भएको छ ।
हस्ताक्षर नभएका मतपत्रबारे जाँझबुझ गर्ने जिम्मा पाएका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको जानकारी दिएका छन् । साथै मतपत्रमा हस्ताक्षर नगर्ने निर्वाचन अधिकृतलाई कानुन बमोजिम कारबाही हुने पनि उनले बताएका छन् ।
माओवादी केन्द्रको चुनाव चिह्नमा छाप लगाइएका ४९ वटा र नेकपा एमालेको चुनाव चिह्नमा छाप लगाइएका ३३ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएको थियो । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका चुनाव चिह्नमा छाप लगाइएका केही मतपत्रमा पनि हस्ताक्षर नभएको पाइएको थियो ।
त्यसपछि यस्तो हुनु संयोग हो कि नियत हो भन्नेबारे उम्मेदवारका प्रतिनिधिहरुले आवाज उठाएपछि करिब आधा घण्टा मतगणना रोकिएको थियो । मंगलबार बिहानसम्मको मत परिणाम अनुसार दाङ २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलभन्दा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छन् ।