ताप्लेजुङ । ताप्लेजुङमा मतगणना सुरु गरिएको छ । जिल्लाका दुर्गम एवम् विकट क्षेत्रका मतपेटिका आइपुगेसँगै सर्वदलीय बैठकपछि केहिबेर अघिदेखि मतगणना सुरु गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभातर्फको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिएकी छन् । उनका अनुसार पहिला प्रतिनिधिसभातर्फको गणना सकिएपछि प्रदेशसभातर्फको गणना सुरु गरिने छ ।
जिल्लाका दुर्गम तथा हिमाली भेगका मतपेटिका आज बिहान मात्र सदरमुकाम ल्याइपुर्याइएको थियो । फाक्ताङलुङ गाउँपालिकामा पर्ने याङमा, घुन्सा, ग्याब्ला र ओलाङचुङगोलाका मतपेटिका पैदल र सवारीसाधनमा हुँदै आज बिहान मात्र ल्याइपुर्याइएको थियो ।
यहाँ कुल ८८ हजार दुई सय ८५ मतदातामध्ये पुरुष ४७ हजार ८० र महिला ४१ हजार दुई सय पाँच छन् । दुई वटा अस्थायीसहित एक सय २५ वटा मतदान केन्द्रबाट ४८ हजार तीन सय ५५ जना मतदाताले मतदान गरेको बताइएको छ ।