काठमाडौं । बाराही हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । हाइड्रोपावरले मंसिर २१ गतेदेखि ५ करोड ५४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । सो मध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको कम्पनीले बताएको छ । बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ४ लाख ५० हजार कित्ता सेयर गरी कुल ५ लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । यो मध्ये ५ प्रतिशत अर्थात् २७ हजार कित्ता सामुहीक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त सेयरमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
सो आइपीओमा एनआइबिएल एस क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले बाराहीको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ ।