काठमाडौं । ‘ए’ डिभिजन लिग २०७९ को प्रत्यक्ष प्रसारण स्पेस फोरके टेलिभिनजले गर्ने भएको छ । फागुन १९ गतेबाट सुरु हुने नेपालको सबैभन्दा पुरानो, ठूलो र स्तरीय फुटबल प्रतियोगिता शहीद स्मारक लिगको प्रत्यक्ष प्रसारणसहित डिजिटल राइट्स समेत स्पेस फोरके टेलिभिजनले लिएको हो ।
लिगसँग सम्बन्धित सबै पक्षको जानकारी दिँदै स्पेस फोरके टेलिभिजनका अध्यक्ष डा. दिनेशकुमार शाहीले प्रत्यक्ष प्रसारणको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । ‘खेल प्रसारणको तयारी अन्तिम चरणमा छ । खेलको प्रत्यक्ष प्रसारणका गर्नुका साथै प्रत्येक खेलको समिक्षा समेत हुन्छ ।’, उनले भने, ‘उच्चतम प्रविधिमार्फत गूणस्तरीय प्रसारण हाम्रो प्राथमिकता हो । प्रसारणमा रिसिभ गर्ने सिस्टम नभए पनि डिजिटल प्लेटफर्ममा भने फोरकेको क्वालिटि दिने तयारी गरेका छौँ ।’
एन्फाले आव्हान गरेको टेन्डर प्रक्रियाबाट एमडीएससी स्पोर्ट्स प्रालिले भ्याट बाहेक १ करोड ९७ लाखमा शीर्षक प्रायोजक बाहेकका मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको अधिकार किनेको थियो । सोहि पत्रकार सम्मेलनका क्रममा एन्फा र एमडीएससीबीच सम्झौतामा हस्ताक्षर भएको छ । एन्फाका महासचिव किरण राई र एमडीएससी स्पोर्ट्सका संयोजक अर्जुन घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
स्पेस फोरके टेलिभिजनले पनि यसअघि नै एमडीएससी स्पोर्ट्स प्रा.लि.सँग सम्झौता गरिसकेको छ । एमडीएससी स्पोर्ट्स प्रा.लि. का संयोजक अर्जुन घिमिरेले सबैले आ–आफ्नो क्षेत्रबाट पहल गरे नेपाली फुटबल उचाइमा जान सक्ने उल्लेख गरेका छन् ।