काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपतिका रुपमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई १८ हजार २ सय ८४ मतले पछि पार्दै पौडेल निर्वाचित भएका हुन् ।
पौडेल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन् ।
मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।