काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) प्रबल जनसेवाश्री मानपदवीबाट बिभूषित भएको छ । मुलुकको आर्थिक स्तरोन्नति र बैंकिङ क्षेत्रको सुधार एवं विकासका लागि संस्थाले अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट बिभूषित भएको हो ।
संविधान दिवस २०७९ को अवसरमा घोषणा भएको उक्त मानपदवी नयाँ वर्ष अर्थात् २०८० बैशाख १ गते राष्ट्रपतिको कार्यालयमा आयोजित सुशोभन समारोहमार्फत प्रदान गरिएको छ । उक्त मानपदवी सिबिफिनकोतर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले ग्रहण गरेका थिए ।
संस्थागतरुपमा पहिलोपटक प्रदान गरिएको उक्त मानपदवी प्राप्त भएको सुखद अवसरमा सिबिफिनले खुशी व्यक्त गरेको छ । सोहि अवसरमा नेपाल सरकार र राष्ट्रपतिको कार्यालयप्रति हार्दिक आभार व्यक्त गर्दै प्राप्त मानपदवीले सिबिफिनको शिर उँचो भएको र गरिमा बढेको मात्र नभइ थप कर्तव्य र जिम्मेवारी पनि थपिएको सिबिफिनले जनाएको छ ।
यस्तै, सिबिफिनले संस्थागत उद्देश्यहरुको कार्यान्वनयसँगै नेपाल सरकार र मातहतका निकायहरुबाट प्राप्त हुने जिम्मेवारीहरुलाई अत्यन्तै गहनताका साथ पूरा गर्दै आएको र आगामी दिनमा पनि सदस्य संस्थाहरु, राष्ट्र र आम जनताको हकहित र कल्याणका खातिर थप क्रियाशिल भइ लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।