काठमाडौँ । दाङको मुख्य बजारमा बत्ति नबल्दा व्यवसायी मर्कामा परेका छन् । जिल्लाको तुलसीपुर बजारमा रातिको समयमा बिजुली बत्ती नबल्ने र सिसि क्यामेराले पनि काम नगर्दा व्यवसायी मर्कामा परेका हुन् ।
साविक राप्तीको व्यापारिक केन्द्रका रुपमा रहेको तुलसीपुरमै सिसी क्यामेरा र सडक बत्ती नहुँदा घाम डुबेपछि पसल बन्द गर्नुपर्ने बाध्यता रहेको व्यवसायी घनश्याम डाँगीले बताए । ‘सिसी क्यामेरा छैनन्, बत्ती पनि छैनन्’, उनले भने, ‘त्यसले पसल सुरक्षित हुने अवस्था नभएपछि दिउँसै पसल बन्द गर्नुपर्ने अवस्था छ ।’
रातिको समयमा बिजुली बत्ती नबल्दा बजार क्षेत्रमा नयाँ सिसी क्यामेरा जडान गरिए पनि काम भने गरेको छैन् । सडकमा रातको समयमा विजुली बत्ति र सिसी क्यामेरा नहुँदा चोरीका घटना बढेको व्यवसायीको गुनासो छ । विजुली बत्ती नहुँदा यात्रुहरूसमेत मारमा परेका छन् । सडक बत्ती नबल्दा व्यवसायी आफैँले राखेका सिसी क्यामेराले समेत काम व्यवसायीको भनाइ छ ।
व्यवसायीले कर तिर्दै आएको भएयता सहज सेवा नपाएको गुनासो गर्दै आएका छन् । तुलसीपुरका विभिन्न स्थानमा एक सय २५ वटा सौर्य बत्ती जडान गरिए पनि बत्तीले काम गर्न छाडेको वर्षौ । तर, पनि मर्मतका लागि स्थानीय सरकारले चासो देखाएको छैन । सडक बत्ती राख्दा एक करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ । सौर्य बत्ती वातावरणीय प्रदुषणलगायत विभिन्न कारणले बल्न छाडेको उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले बताए ।
ठेकेदार सम्पर्कमा नआउँदा सडक बत्ती मर्मत गर्न नसकिएको जनप्रतिनिधि बताउँछन् । तत्कालीन नगरपालिका हुँदा सौर्य बत्तीको सम्झौता भएको थियो । यसपछि नयाँ जनप्रतिनिधि आएर ठेकेदारलाई मर्मतका लागि बोलाए । पहिलो पटक ठेकेदार आए पनि त्यसपछि भने ठेकेदार सम्पर्कमै नआएको तुलसीपुर -५ का वडाध्यक्ष वीरेन्द्र शाहले बताए ।
सडक बत्ती र सिसी क्यामेरा नहुँदा शान्ति सुरक्षा कायम राख्न पनि समस्या पुगेको जनाइएको छ । पटक–पटक चोरी हुने क्रम बढेको छ । अठार क्यामेरा र रातको समय खिच्न मिल्ने सिसी क्यामेराको माग गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।