काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैले बेहोर्ने इच्छा व्यक्त गरेका छन् ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति पौडेलले उपचारका क्रममा भएको खर्च आफैले बोहोर्न चाहेको जानकारी दिएका छन् । उपचारको खर्च सरकारी ढुकुटीबाट भएको भन्दै चर्को आलोचना भइरहेका बेला राष्ट्रपतिले उपचारको खर्च स्वयमले बेहोर्न चाहेको उनका प्रेस संयोजक कार्कीले जनाएका छन् ।
‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपति ज्यू स्वयमले बेहोर्ने चाहेको कुरा अवगत गराइन्छ’– विज्ञप्तीमा भनिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा लगिएको थियो । ११ दिन उपचारपछि राष्ट्रपति पौडेल आइतबार राति स्वदेश फर्किएका थिए ।