Skip to content
LAXMI SUNRISE BANK

नाका खुले पनि तातोपानीमा नेपालीलाई उस्तै सास्ती, आयात सुस्तायो, निर्यात ठप्पप्राय !

अर्थ सरोकार

काठमाडौं । चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्णरुपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ । निर्यात खोलिएलगत्तै चीनको मागअनुरुप सिगात्सेमा लैजान तयार पारिएका भाँडाकुडा, हस्तकलाका सामान बोकेका तीन कन्टेनरसमेत तातोपानी सुक्खा बन्दरगाहमा थन्किएका छन् ।

दुवै पक्षबीचको समझदारीअनुसार नाका खोल्ने निर्णय गरे पनि निर्यात भने ठप्पप्राय रहेको तातोपानी भन्सार कार्यालयका अधिकृत दयादन्द केसीले बताएका छन् । ‘नाका खोल्ने सहमति भएको हो । खोलिउको पनि हो तर निर्यात भने ठप्प छ ।’, केसीले भने, ‘नाका खोलियो भनिएकै बेला तयार पारिएका सामग्रीको फारम भरेको पनि एक साता भयो । निर्यात खुल्नुको सट्टा उल्टै आयात भइरहेका कन्टेनर पनि दिनहुँ घट्दो क्रममा देखिन्छन् ।’

हाल नेपालीहरुले निर्यातका लागि नेपालबाट खाद्यान्न जडिबुटीलगायत वस्तु मितेरी पुलको आधा भागसम्म पुर्याउन सक्नेछन् । ‘मानिस आवातजावत तथा गाडी खासासम्म जाने कुरा होइन निकासी मात्रै हो ।’, प्रमुख भन्सार अधिकृत केसीले भने, ‘तातोपानी नाकाबाट पहिलेको जस्तो निर्यातका लागि नेपालीले पर्याप्त सामग्री उपलब्ध गराउन सकिरहेका छैनन् ।’

पहिले–पहिले खासासम्मका लागि खाद्यान्न तथा तरकारी र सतुवालगायत जडीबुटीसमेत निर्यात गर्न पाउँदा नेपालीले राम्रै आम्दानी गर्थे । त्यसबेला खासामा होटल सञ्चालनलगायत गतिविधिमा तिब्बतीयन बाहेक पाँच सय नेपाली स्थायी झैँं बसोबास गरेका थिए । तर, खासा अहिले सुनसान छ । निकासी खुलेपनि नेपालबाट हस्तकला सामग्रीबाहेक अन्य वस्तु निर्यातको सम्भावना नभएकोे भन्सार अधिकृत केसीको भनाई छ ।

अहिले नेपाली व्यापारीले खासाबाट सिल्क कम्पनीमार्फत नेपालतर्फ दैनिक ६/७ कन्टेनरमार्फत स्याउ, लसुन तथा लत्ताकपडा लगायत सामग्री मितेरी पुलसम्म ल्याउन पाउँछन् । यसअघि स्याउ, लसुन, ऊन, रोल कपडा, जलविद्युत् आयोजनाका पाइपजस्ता ठूला भारका सामग्री तातोपानी नाकाबाट आयात हुनेगर्थे । तर, चालु आर्थिक वर्षमा ४ अर्ब ६२ करोड भन्सार राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा अहिलेसम्म २ अर्ब २० करोड मात्रै उठेको भन्सार अधिकृत केसीले बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK