काठमाडौं । दुबई पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक जिल्ला चौँरीदेउराली गाउँपालिका वडा नं. ६ कात्तिके देउराली स्थाई घर भई हाल काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपन आकाशेधारा बस्ने २९ वर्षीय उमेश रिमाल पक्राउ परेका हुन् ।
उनले अनिश श्रेष्ठ सहित १७ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिने भन्दै रकम ठगि गरेका थिए । रिमालले दुबई जान २ लाख रुपैयाँ लाग्ने र दुबई पुगेपछि कुखुरा फार्ममा काम लगाईदिन्छु मासिक ५० हजार बढी तलब हुन्छ भनि प्रलोभनमा पारी पिडितहरुबाट पटक पटक गरी ९ लाख ५० हजार रकम लिई सम्पर्क विहिन भएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीटोलिले उनलाई जेष्ठ ७ गते नयाँबानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका रिमाललाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको प्रहरीले जनाएको छ ।