काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मे ३१ गतेदेखि २०२३ जुन ३ सम्म भारत भ्रमणमा रहनेछन् । सन् २०२२ को डिसेम्बरमा प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि नेपालका प्रधानमन्त्री दाहाल पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि भारत जान लागेका हुन् ।
भारत भ्रमणमा क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहालले भारत र नेपालबीचको द्विपक्षीय साझेदारीका विविध क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बृहत छलफल गर्नेछन् । भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्रीसँग अन्य भारतीय विशिष्ट व्यक्तिले समेत भेट गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ ।
त्यस्तै, भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले औपचारिक कार्यक्रमका अतिरिक्त उज्जैन र इन्दौरको पनि भ्रमण गर्नेछन् । भारतको विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दै ‘छिमेकी पहिलो’ नीतिलाई अगाडि बढाउन भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई भ्रमणले निरन्तरता दिएको जनाएको छ ।
दुई देशबीचको द्विपक्षीय सम्बन्ध विगत केही वर्षमा सहयोगका सबै क्षेत्रमा उल्लेखनीय रूपमा सुदृढ भएको समेत भारतीय विदेश मन्त्रालयको भनाई छ । प्रधानमन्त्रीको उक्त भारत भ्रमणले द्विपक्षीय साझेदारीलाई थप गति दिन दुवै पक्षले दिएको महत्त्वलाई जोड दिने विदेश मन्त्रालयले उल्लेख गरेको छ ।