काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले बुधबार बिहान प्रमाणीकरण गरेका हुन् ।
जेठ १२ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रमाणीकरण गर्न अनुरोध गरेको थियो ।मन्त्रिपरिषद्को सोहि अनुरोधअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् ।
संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक २०७९ साउन १६ गत तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर उनले विधेयक चित्त नबुझेको भन्दै संसद्लाई फिर्ता पठाएकी थिइन् । पुनः भदौ २० गते दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर पठाउँदा पनि विधेयक शीतल निवासमा नै रोकिएको थियो ।
यसरी पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी नै शीतल निवासबाट बाहिरिएकी थिइन् । सोही विधेयक राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएपछि विभिन्न कारणले नागरिकता पाउनबाट वञ्चित ५ लाख बढी युवाहरुले नागरिकता पाउने भएका छन् ।