काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका युवाहरुले पठाएको रेमिट्यान्सको भरमा देश चलिरहेको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलामा उनले वैदेशिक रोजगारमा गएका युवाहरुको खुन र पसिनाको बलमा प्राप्त भएको रेमिट्यान्सले देश चलिरहेको टिप्पणी गरेका हुन् ।
‘देशको ढुकढुकी संचालन गर्ने वैदेशिक रोजगारमा गएका युवाहरुले नै हो ।’, उनले भने, ‘उनीहरुकै बलमा उनीहरुकै खुन र पसिनाको बलमा प्राप्त भएको रेमिटेन्सले आज देश चलिरहेको छ । नेपाल बस्नेहरु त्यसैमा बाँचिरहेको छौं ।’
त्यस्तै, उनले आयातमुखि अर्थतन्त्रलाई उत्पादनमुखिमा बद्लेर आत्मानिर्भर हुनुपर्ने धारणा व्यक्त गरेका छन् । देशकै श्रोत साधनलाई प्रयोग गरेर देशमा रोजगारी सृजना गर्न आवश्यक रहेको उनको भनाई रहेको छ ।