काठमाडौं । बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत NEPALPAY QR मा ३ लाख भन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । छोटो अन्तरालमा ३ लाख भन्दा बढी मर्चेन्टहरु क्युआरमा आबद्ध गरिनुले नेपालमा क्युआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल-क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्युआर सञ्चालनमा ल्याइएको हो । क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । हाल २३ बैंक वित्तीय संस्था तथा ३ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरुले नेपाल पे क्युआरमा आवद्ध हुन सक्नेछन् भने २१ बैंक वित्तीय संस्था तथा ६ भुक्तानी सेवा प्रदायकका वालेटहरु मार्फत स्क्यान र पेको सुविधा उपलब्ध रहेको छ ।
विभिन्न व्यावसायिक ग्राहकले नेपाल पे क्युआरमा आवद्ध भई क्युआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायक सँग सम्पर्क गर्नुपर्ने हुन्छ । भौतिक रुपमा क्युआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्युआर इन्टिग्रेट गरी वा इ-कमर्श पोर्टलमा क्युआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ ।
धेरै जसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । नेपाल पे क्युआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ वा वालेटको प्रयोगकर्ताले क्युआर स्क्यान गर्ने अप्सनमा गई NEPALPAY लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।