काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीचको सम्बन्ध हिमालको उचाई झैँ अघि बढीरहेको बताएका छन् । बुधवार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भारत भ्रमणपछि झनै नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ र उचाईमा पुगेको बताए । ‘नेपाल र भारतको सम्बन्ध पनि झनै हिमाल झैँ उचाईमा बढीरहेको छ ।’, उनले भने, ‘प्रधानमन्त्रीको पछिल्लो भ्रमणले त्यो कुरालाई पुनः पुष्टि गरेको छ । कोशेढुंगा सावित भएको छ सम्बन्धमा ।’ उनले योगा गर्न र मनोरम दृश्य हेर्न भारतका नागरिकहरुलाई पोखरामा आउन आह्वान गरेका छन् । साथै उनले नेपालकोजस्तो प्राकृतिक सुन्दरता अन्य देशमा नरहेको भन्दै पोखरालाई नेपाल, भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
सोही अवसरमा मन्त्री किराँतीले विभिन्न शहरमा हवाई उडान हुनसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ हुनेसमेत बताएका छन् । ‘योगा गर्न र मनोरम दृश्य हेर्न भारतका दिदीबहिनी, दाजुभाईलाई निम्तो गर्दछौँ ।’, उनले भने, ‘नेपालको जस्तो प्राकृतिक सुन्दरता सायदै विश्वमा छ ।’
त्यस्तै, मन्त्री किराँतीले पोखराबाट सिधै भारतको विभिन्न शहरहरुमा उडान भर्नसक्ने लगभग सम्भावना बढेको जिकीर गरेका छन् । पोखराबाट पटना, पोखराबाट भारतको चण्डीगढ, पोखराबाट भारतको गोरखपुर विमानस्थलमा उडान भर्नसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध प्रगाढ थप प्रगाढ हुने मन्त्री किराँतीको भनाई छ ।