काठमाडौं । मोबाइल बैंकिङ आफैमा छिटो, छरितो, भरपर्दो र संवेदनशील प्रयोग हो । कतिपय अवस्थामा बैंकका ग्राहकहरु आफूले प्रयोग गर्दै आएको मोबाइल बैंकिङको पिनकोर्ड भुलेर समस्यामा पर्ने गरेका छन् । यतिसम्म कि, मोबाइल बैंकिङको पिन बिर्सिएर थुप्रै सेवाग्राहीहरु बैंकसम्मै पुग्ने गरेको पाइएको छ ।
तर, एनआईसी एशिया बैंकले मोबाइल बैंकिङको पिन बिर्सिदा हुने झण्झटको एक क्लिकमै समाधान गर्नेगरी सुविधा ल्याएको छ । बैंकले ल्याएको आईसर्भ सुविधामार्फत ग्राहकले बिर्सिएको मोबाइल बैंकिङको पिन एक क्लिकमै रिसेट गर्न सक्नेछन् ।
यसका लागि सुरुमा बैंकका ग्राहकले एनआईसी एशिया बैंकको वेबसाईटमा जानुपर्छ । र त्यहाँ देखिने ‘गो टु आईसर्भ’ बटनमा क्लिक गरी मोबाइल बैंकिङ सेलेक्ट गर्नुपर्नेछ । यति गरिसकेपछि बैंकको वेबसाईटमा रिसेट पिन भन्ने अप्सनमा गएर सहजै रुपमा आफ्नो मोबाइल बैंकिङको पिन रिसेट गर्न सकिन्छ । यतिमात्र होइन बैंकको उक्त सुविधाको प्रयोग गरेर ग्राहकले नयाँ मोबाइल बैंकिङ रजिष्ट्रेशन, मोबाइल बैंकिङ अलब्लक र मोबाइल बैंकिङ ब्लक पनि गर्न सक्नेछन् ।
बैंकको यो सुविधासँगै मोबाइल बैंकिङको पिन कोर्ड बिर्सिएर ग्राहकले लिनुपर्ने भण्झटको अन्त्य भएको छ ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।