काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवा पत्नी आरजु राणाको नाम जोडेर करौडौंको डिल गरेको अडियो सन्देश शर्माको भएको पुष्टी भएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने संगठित गिरोहमाथि प्रहरीले छानविन सुरु गरेलगत्तै नेपाली कांग्रेसकी नेतृ आरजु राणाको नाम लिएर करोडौंको डिल भएको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै आरजुले उक्त अडियो ‘फेक’ भएको दाबी गरेकी थिइन् ।
यतिसम्म कि आरजु राणाले उक्त अडियो आफूलाई फसाउने गरी नियोजित रुपमा गरिएको षड्यन्त्र भएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी समेत दिएकी थिइन् ।
तर, उक्त अडियो नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परिसकेको दाङको तुलसीपुर घर भएका सन्देश शर्माको भएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआईजी कुवेर कडायतले जानकारी दिएका छन् । डिआईजी कडायतका अनुसार अडियो परीक्षणका क्रममा शर्माको स्वरसँग ‘स्पिकर आइडेन्टिफिकेस ट्रेट्स म्याच’ भएको हो ।
उक्त अडिओ कहाँ र कसबाट ‘ओरिजिनेटेड’ भयो भन्ने सम्बन्धमा भने टिकटक सिंगापुरलाई पत्राचार गरिए पनि हालसम्म त्यसको जवाफ नआएको डिआईजी कडायतले बताएका छन् । अडियोमा आवाज रहेका शर्मा हाल पुर्पक्षका लागि थुनामा छन् । प्रहरी सँगको बयानका क्रममा पनि शर्माले उक्त अडियो आफ्नो भएको स्वीकार गरेका थिए ।