काठमाडौँ । यतिबेला एसईईको नतिजा प्रकाशन भईसकेपछि विद्यार्थीहरु कलेजको खोजीमा छन् । आफ्नो रोजाई अनुसारको विषय पढ्नका लागि विद्यार्थीहरु विभिन्न कलेजमा पुगी कलेजबारे बुझिरहेका छन् । कलेज, कलेज घुम्दै गर्दा विद्यार्थीले सोध्ने र कलेजले बढी लोभ देखाउने चीज हो-डिस्काउन्ट अर्थात छुट । विद्यार्थीले ल्याएको ग्रेड अनुसार छुट दिन र पाउन दुवैखालका घम्साघम्सी चलिरहेको छ कलेजहरुमा । तर धेरैजसो कलेजहरुले कक्षा ११ मा गज्जबको दिस्काउन्तको लोभ देखाएर १२ कक्षामा कलेजले तोकेको पूरा शुल्क उठाउने गरेको खुलासा भएको छ । कक्षा ११ मा पढीसकेका विद्यार्थीहरु कक्षा १२ मा कतै पनि नजाने हुनाले पनि कलेजहरुले यस्तो असुली गर्ने गरेको पाइएको हो ।
कक्षा ११ मा ३० हजार, १२ को फी ९० हजार !
धनगढीबाट आएकी रिता श्रेष्ठ (नाम परिवर्तन) यति बेला काठमाडौँको एक कलेजमा कक्षा १२ मा पढ्छिन । सुदूरपश्चिमबाट आएको भनेर उनी पढ्ने कलेजले उनलाई कक्षा ११ मा ३० हजार बार्षिक शुल्क लिने गरी पढायो । यहि रकममा उनको भर्ना शुल्क र ट्युसन शुल्क पनि समेटियो । तर जव उनी कक्षा १२ मा पुगिन्, त्यसपछि त ओहो, कलेजले उनलाई भनेको फी सुन्दा उनी अचम्ममा परिन् । कलेजले छुट गरेर एक बर्षको फी ९० हजार निकाल्यो । अर्थात कक्षा ११ मा पढेको भन्दा कक्षा १२मा पढेको शुल्क झन्डै तेब्बर । अझ उनी पढेको कलेज ठिकैको मात्र कलेज हो । पछि उनले यस विषयमा अन्य कलेजमा पनि बुझिन् । अन्य कलेजका साथीहरुसँग बुझ्दा अधिकांस कलेजहरुले यसरी नै विद्यार्थी लुट्ने गरेका रहेछन् ।
कलेजको तर्क- ‘११ भन्दा १२ कक्षा महँगो भईहाल्छ नि !’
यो समस्या एक दुई कलेजको होइन, काठमाडौँका धेरै कलेजको हो । तर कलेजहरुको तर्क छ- ‘कक्षा ११ को भन्दा १२ कक्षाको शुल्क महँगो भईहाल्छ नि ।’ तर महँगो हुन्छ भन्दैमा केहि हजार पो हुन्छ त तेब्बर नै हुन्छ र ? यो प्रश्नमा धेरैजसो कलेजको तर्क छ, ‘यो त कलेजको नियम हो ।’ तर यसरी कलेजले खुलेआम लुट मच्चाउँदा पनि यस विषयमा बोल्ने कोहि छैन । नीजी स्कुलमा विद्यार्थीले आवाज उठाउने कुरै भएन, आवाज उठे पनि सुनिदिने कोहि छैन । नियामकले यस विषयमा आजसम्म बोलेको छैन । धन्न ! केहि विद्यार्थीहरुले महानगरमा उजुरी गरिदिने चेतावनी दिन थालेका छन् आजकल कलेजहरुमा ।
बालेनलाई खबर गर्ने चेतावनीपछि घटेको छ धेरैको शुल्क !
यसो त विद्यार्थीहरु कलेजले गर्ने यस्तो लुटका बारेमा खासै बोल्दैनन् । धेरैजसोको आर्थिक डिल अभिभावकसँग हुने भएकाले विद्यार्थीहरु यस्तो काममा सामेल हुँदैनन् । तर काठमाडौँबाहिर बाट आएका धेरै विद्यार्थीहरु भने यस विषयमा चिन्तित छन् । यो बीचमा धेरै कलेजहरुमा विद्यार्थीले बालेन शाहको नाम लिएपछि कलेजले कक्षा ११ कै शुल्कमा पढाईदिएको समेत पाइएको छ । ‘सुरुमा फी तेब्बर लिन खोजियो । जति अनुरोध गर्दा पनि कलेजले मानेन । पछि बालेनलाई खबर गरिदिने भनेपछि कलेजबाट निकालिदिने धम्कीसमेत आयो । तर यस विषयमा बालेनलाई लिखित उजुरी दिने र मिडियासमेत बोलाउने भनेपछि कलेज मलाई ११ कै शुल्कमा पधाउन तयार भयो ।’ अर्थ सरोकारको अपरेशन प्लस टु सिरिज पढेपछि अर्थ सरोकारको सम्पर्कमा आएका अर्का एक विद्यार्थी भन्छन्- ‘कलेजमा लुट छ, ११ मा भर्ना गर्नु अगावै विद्यार्थीहरुले १२ कक्षाको पनि डिल गर्नुपर्छ । तर कलेजहरुले भसक्कै पार्नेगरी लुट्छन् ।’