काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि दक्षिण कोरियासँग आग्रह गरेको छ ।
नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवम् व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरेका हुन् । अध्यक्ष मल्लले भने, ‘दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पुग्न लागेको छ। लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत् आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ । ‘
उनले नेपालको जलविद्युत, पूर्वाधार क्षेत्र, पर्यटन एवम् प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन नवनियुक्त राजदूत पार्कसँग आग्रह गरे । भारत, बंगलादेश जस्ता देशमा नेपालको विद्युतको उच्च माग रहेको भन्दै उनले लगानी प्रतिफलको सुनिश्चितता समेत गरे । दुई मुलुकबीच हवाई सञ्जाल विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले राजदूत पार्कको ध्यानाकर्षण गराए । उनले भने, ‘हवाई सञ्जाल विस्तार गरेर दुवै देशमा पर्यटकीय गतिविधि बढाउन सकिन्छ। कोरियामा रहेका नेपाली कामदारलाई पनि थप लाभ हुन्छ ।’
त्यस्तै, अध्यक्ष मल्लले घरेलु, हस्तकला लगायत साना र मध्यमखाले उद्योगमा लगानी गर्न समेत राजदूत पार्कलाई आग्रह गरे । सेवा क्षेत्र, पर्यटन, कृषि लगायत नेपालका विभिन्न आयोजनामा दक्षिण कोरियाले हाल १२ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेको छ। जसबाट १२ हजारभन्दा बढीले रोजगारी पाएका छन् । यस्तै कोरियाबाट यो वर्ष ११ हजार पर्यटक भित्रिएका छन् ।
चेम्बरको स्वागतपछि नवनियुक्त राजदूत पार्कले आफ्नो कार्यकालमा नेपालसँगको कूटनीतिक र आर्थिक सम्बन्धलाई थप बलियो बनाउने प्रतिवद्धता जनाए । उनले भने, ‘नेपाल र कोरियाको सम्बन्ध आगामी वर्ष ५०औं वर्षमा पुग्दैछ।’ नागरिक नागरिकबीचको सम्बन्धलाई अझ दिगो बनाउन आफूले भूमिका निर्वाह गर्ने पार्कले बताए ।
नेपालमा उत्पादन हुने सबै वस्तुहरू वातावरण मैत्री भएको भन्दै राजदूतले यहाँ उत्पादित वस्तुहरू आफ्नो मुलुक भित्र्याउनका लागि पहल गर्ने समेत बताए । दुई मुलुकबीच एक अर्कालाई थप चिन्नका लागि ५०औं वर्षगाँठका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम गर्न आफूले पहल गर्ने राजदूत पार्कले बताए।